जनकपुरधाम:नेपालमा वर्षेनी ज्येष्ठ नागरिकको सङ्ख्यामा वृद्धि भएसँगै ज्येष्ठ नागरिक प्रतिको आदर सम्मानमा कमी हुन थालेकोमा सरोकारवाला निकायका व्यक्तिहरूले चिन्ता व्यक्त गरको छन् ।

मधेश प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न “ज्येष्ठ नागरिक ऐन २०६३ को कार्यान्वयनको अवस्था” विषयक कार्यक्रममा सहभागीहरूले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार तथा निजी क्षेत्र गम्भीर हुनुपर्ने खाँचो औँल्याए ।

मधेश प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले ऐनमा भएको प्रावधानहरूको कार्यान्वयनका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकहरूप्रति परिवारका सदस्य नै बढी संवेदनशील भए समस्याहरू स्वतः समाधान हुने बताए ।

अध्यक्षको आसनबाट राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले ज्येष्ठ नागरिकहरू घरपरिवार तथा देशका लागि योगदान गरेकाले उहाँहरूको योगदानको कदरका लागि ऐनको निर्माण भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका नेपालस्थित केन्द्रीय कार्यालयका कार्यक्रम विश्लेषक समीर घिमिरेले ज्येष्ठ नागरिकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हालै सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार मुलुकमा वृद्ध–वृद्धाको सङ्ख्या २९ लाख ७७ हजार २ सय १८ जना रहेको र उक्त सङ्ख्या कूल जनसङ्ख्याको १०.२ प्रतिशत रहेको जानकारी दिए । गत जनगणनामा कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिक ८.३ प्रतिशत मात्र रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको