जनकपुरधाम:सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा एक महिनाअघि भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।
सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तरगत रहेको गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्षसहित केही दिनअघि प्रतिवेदन बुझाएको हो ।
समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए । ‘समितिले प्रतिवेदन बुझाएको छ, त्यसमा भएका विषयहरु चाहिँ मैले हेर्न पाएको छैन’, उनले भने ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए ।
दुई दिनपछि छानबिनका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
पाण्डे नेतृत्वको समितिका एक सदस्यका अनुसार, समितिले आगलागीको कारण यकिन त गर्न सकेन । तर कम्तिमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट हुनुलाई ‘पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाउनु’को परिणाम भनेको छ ।
‘सशस्त्र प्रहरी बलको भण्डार महाशाखा अन्तरगतको गोदामको व्यवस्थापन चाहिँ नंं ९ पशुपति बाहिनीले गर्ने रहेछ’, समितिका एक सदस्यले भने, ‘यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति पनि राखेको पाइएन ।’
सशस्त्र प्रहरीले आगलागी भएलगत्तै बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तानेर छानबिन गरेको थियो ।
गृह मन्त्रालयको समितिले आगलागीको कारण पत्ता लगाउन पूर्वाधार नै नभएको भन्दै कारण किटान गर्न नसकिएको भनेको छ ।
तर, छानबिन समितिका एक सदस्यका अनुसार, कसैलाई स्पष्ट जिम्मेवारी नदिइएकाले कसलाई जिम्मेवार बनाउने भन्ने नै स्पष्ट हुन सकेन । यद्यपि, लापरबाही भएकोप्रति यसमा खटिएका कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने भन्दै संगठनमार्फत कारबाही गर्न प्रतिवेदन सिफारिस गरिएको ती अधिकृतले बताए ।
३७ हजार बुट राखिएको ठाउँमा एउटा सीसी क्यामरा समेत राखेको नपाइएको ती सदस्यले बताए । ‘सीसी क्यामरा भएको भए आगलागीको कारण पत्ता लगाउन पनि सहज हुन्थ्यो’, ती अधिकृतले भने, ‘यसमा सशस्त्र प्रहरी बलबाट गम्भीर लापरबाही भएको देखिन्छ ।’
उनका अनुसार, गोदामको सुरक्षाका लागि एउटा सेन्ट्री समेत राखेको देखिएन । संवेदनशील स्थानमा ‘फायर डिटेक्टर’ र सर्भिलेन्स हुनुपर्नेमा न्यूनतम संवेदनशीलता पनि अपनाएको नपाइएको छानबिन समितिको निष्कर्ष छ ।
आगलागीमा प्रयोग भइसकेका गोलीका एक बोरा खोका भने जस्ताको तस्तै भेटिएका छन् । एक अधिकृत भन्छन्, ‘गोलीका खोका स्टीलको भएकाले केही नभएको हुनसक्छ ।’