वीरगञ्ज:चालु आर्थिक वर्षको १० महिनामा सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरिएको दाबी गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए ।

“अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,” उनले भने, “माग कम भएपछि आयात पनि स्वत: घट्ने भयो ।” भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने ४० अर्ब तीन करोड रुपैयाँ संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुने गरेको छ । विगतमा दैनिक तीन कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुईवटा आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० कन्टेनर ल्याउने गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए पनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलनमा घटेको बताए ।

“यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन, उनले भने, “गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।”

कार्यालयले चालु आवको साउन महिनामा चार अर्ब सात करोड राजस्व संकलन ग¥यो । भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा चार अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा तीन अर्ब ६३ करोड रुपैयाँ, मंसिर महिनामा चार अर्ब २८ करोड रुपैयाँ, पुस महिनामा तीन अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन ग¥यो । कार्यालयले माघ महिनामा तीन अर्ब ७४ करोड रुपैयाँ, फागुन महिनामा तीन अर्ब ६२ करोड रुपैयाँ, चैत महिनामा चार अर्ब २८ करोड रुपैयाँ र वैशाख महिनामा तीन अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको