जनकपुरधाम:जनकपुरधामको गंगासागर पोखरीको डिलमै प्रत्येक साँझ हुँदै आईरहेको महागंगा आरती ११औँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभाका सदस्य रामअशिष यादव सहितका अभियानीहरुको प्रयासमा शुरु गरिएको गंगाआरती १० वर्ष पुरा गरेर ११औँ वर्षमा प्रवेश गरेको हो ।
महागंगाआरतीको वार्षिकोत्सवको अवसरमा सेभ द हिस्टोरिकल जनकपुरले शनिबार विभिन्न कार्यक्रमका साथै विशेष आरतीको आयोजना गरेको थियो । जनकपुरधामको विभिन्न पोखरीहरूको सरसफाइ तथा सौन्दर्यीकरणको क्रममा गंगाआरतीको विचार भएर शुरु भएको महागंगाआरति जनकपुरधाम आउने सबै पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको छ । यसका साथै जनकपुरधामको गंगासागर पोखरीको कायापलट पनि भएको छ । पोखरीको सरसफाइ तथा सौन्दर्यीकरणको काम भएको छ । महागंगाआरति जनकपुरधाममा शुरु भएपछि अहिले यसको सिको गरेर देशका अन्य भूभागहरूको पनि विभिन्न नाउँबाट आरती शुरु भएको छ ।
यस अघि जनकपुरधामको दशरथ तलाउमा दशहरा पर्वको अवसरमा धार्मिक मेला लागेको थियो । गंगा दशहराका दिन दशरथ तलाउमा स्नान तथा ध्यान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास रहेकाले बिहान देखि नै स्नान गर्नेहरूको भिड लागेको थियो ।
यसका साथै गंगादशहरामा दशरथ तलाउमा स्नानपछि आँप च्युरा तथा दही खाने चलन पनि रहेको छ ।