काठमाडौँ:दक्षिण भारतीय राज्य कर्नाटकस्थित कन्नाडा भाषाको फिल्म उद्योगका सुपरस्टार दर्शन थुगुदीप गत १० दिनदेखि हिरासतमा छन् । उनीमाथि त्यस्तो आरोप छ, जुन फिल्मको कथाभन्दा कम छैन ।

उनीमाथि आफ्नै एक ३३ वर्षीय फ्यान रेणुकास्वामीको हत्या गरेको आरोप छ । एउटा नालामा रेणुकास्वामीको शव फेला परेपछि दर्शनसहित १७ जना पक्राउ परेका छन् ।

केही दिनअघि बेंगलुरु प्रहरीका कमिस्नर बी दयानन्दले रेनुकास्वामीको बर्बर र क्रुर तवरले हत्या गरिएको बताए । उनको हत्या ‘भयानक तरिकाले गरिएको जघन्य अपराध’ भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार ४७ वर्षीय अभिनेता दर्शन रेणुका स्वामीसँग क्रुद्ध थिए । किनकि फार्मेसी कम्पनीमा काम गर्ने रेणुकास्वामीले पवित्रा गौडा नामक अभिनेत्रीलाई अश्लील सन्देश पठाएका थिए । भारतीय सञ्चारमाध्यमले पवित्रालाई दर्शनको प्रेमिका भन्ने गरेका छन् । उनी पनि पक्राउ परेकी छन् ।

पक्राउ परेकाहरूमाथि हत्या, अपहरण, प्रमाण नष्ट र आपराधिक षड्यन्त्रको आरोप छ ।

दर्शन जेलमा छन् । उनले यो घटनाबारे मुख खोलेका छैनन् । तर, उनका वकिल रंगनाथ रेड्डीले आफूले भेट्दा दर्शनले आफूविरुद्ध लागेका सबै आरोपको खण्डन गरेको बताएका छन् ।

‘यी सबै आरोप मात्र हुन्,’ वकिल रेड्डी भन्छन्, ‘प्रहरीसँग प्रत्यक्ष प्रमाण केही पनि छैन । परिस्थितिजन्य प्रमाण मात्र छ ।

रेड्डीले पवित्राले दर्शनसँग विवाह गरेको कुरा पनि झुट भएको दाबी गरे । बक्स अफिसको हिसाबले कन्नाडा फिल्म उद्योगको सबैभन्दा भरपर्दो अभिनेताका रूपमा पनि उनी परिचित छन् । उनले करिब ६० फिल्ममा काम गरेका छन् । तीमध्ये थुप्रै हिट भएका छन् ।

‘कन्नाडा फिल्म उद्योगका उनी सबैभन्दा ठूला स्टार हुन् । उनको फ्यान फलोइङ विशाल छ । उनको तस्बिर अटोरिक्सामा टाँसिन्छन् । उनको फिल्म रिलिज हुँदा उनको होर्डिङ बोर्डमा फ्यानहरूले दूध खन्याउँछन्,’ फिल्म समीक्षक एस शिवकुमार भन्छन् ।

कन्नाडा फिल्म निर्माता योगिश द्वारकिश भन्छन्, दर्शन त्यस्ता अभिनेता हुन्, जसले असाधारण ओपनिङ ग्यारेन्टी गर्छन् । उनको फिल्म ४ सय थिएटरका ६–७ सय स्क्रिनमा रिलिज हुन्छन्। उनका प्रशंसक उनको पूजा गर्छन् । हरेक पटक हिट दिने गर्छन् । उनको पछिल्लो फिल्म कातिराले १ अर्ब रूपैयाँभन्दा ज्यादा कमाएको थियो ।’

उनी एउटा फिल्म खेलेबापत २० देखि २५ करोडसम्म लिन्छन् । स्थानीय फिल्म उद्योगमा यो नसुनिएको पैसा हो । जहाँका फिल्म प्रायः साना बजेटका हुन्छन् । अधिकांश कन्नाडा फिल्म छिमेकी राज्यहरूमा समेत रिलिज हुन पाउँदैनन् ।

त्यसैले जुन ११ मा नाटकीय रूपमा उनको गिरफ्तारीपछि यो विषय समाचारमा छाइरहेको छ । आफ्नो फिल्म डेभिलको सुटिङका लागि मैसुरको एक होटलमा बसिरहेका बेला प्रहरीले उनलाई पक्रेको थियो ।

प्रहरीले औपचारिक रूपमा उनी र अन्य आरोपितविरुद्ध कुनै प्रमाण सार्वजनिक गरेको छैन । तर, स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उधृत गर्दै गम्भीर आरोप र भयानक विवरणहरू सार्वजनिक गरेका छन् ।

टीभी च्यानलहरूले धमिलो सीसीटीभी फुटेज देखाउँदै त्यो रेणुकास्वामीको अपहरण भएको बताएका छन् । रेणुकास्वामीको पोस्टमार्टम रिपोर्टको विवरणहरूमा छलफल चलाइएको छ ।

हत्याको रात दर्शनले लगाएको जुत्ता उनकी पत्नी विजयालक्ष्मीको घरमा भेटिएको विषयमा खबरमा छापिएपछि विजयालक्ष्मीले प्रेसविरुद्ध निरोधक आदेश लिएकी छन् ।

त्यसैगरी, दर्शनको निजी जिन्दगीका विषयमा व्यापक चर्चा सुरु भएको छ । पत्नी विजयालक्ष्मी र प्रेमिका भनिएकी पवित्रा गौडासँगको उनको सम्बन्धलाई लिएर अनेक अनुमान गरिएका छन् । विगतमा दर्शनका व्यवहारका विषयमा पनि सामाजिक सञ्जालमा बहस भएको छ ।

गत जनवरीमा पवित्रा गौडाले दर्शनसँगको सम्बन्धको १० वर्ष पुगेको भन्दै एउटा पोस्ट गरेकी थिइन् । उनीहरूको गिरफ्तारीपछि सो पोस्ट भाइरल भएको छ ।

दर्शन अभिनेता श्रीनिवास थुगुदीपका छोरा हुन् । जो १९७० को दशकमा खलनायकको भूमिकामा निकै लोकप्रिय र सफल भएका थिए । ३० वर्षदेखि दर्शनलाई चिन्ने निर्माता योगिशका अनुसार बुवाको मृत्युपछि दर्शनले जीवनमा निकै ठूला कठिनाइ बेहोर्नुपरेको थियो ।

पहिलो पटक उनले सिनेमाटोग्राफरका लागि लाइटिङ मिलाउने काम गरेका थिए । जसको दैनिक १५० रूपैयाँ ज्याला पाउँथे ।

तर, हट्टाकट्टा ज्यान र प्रभावशाली व्यक्तित्व भएकालाई क्यामराको अगाडि उभिन सुझाव आयो । त्यसपछि उनी फिल्म र टीभीका लागि ससाना भूमिकामा देखिन थाले । २००२ मा पनि ठूलो भूमिकामा मौका पाए ।

‘म्याजेस्टिक नामकको फिल्मबाट उनी चर्चामा आए । जहाँ उनी एन्टीहिरोको भूमिकामा थिए । सो फिल्मले उनलाई प्रसिद्धि दिलायो र उनी स्टार बने,’ शिवकुमार भन्छन् ।

त्यही फिल्मबाट उनले ठूलो संख्यामा फ्यान पनि कमाएको कन्नाडा सिनेमबारे पुस्तक लेखेका समीक्षक मुरलीधर खजाने बताउँछन् ।

‘समाजका सीमान्तकृत समुदायका मानिसका लागि उनी नायक बने। उनीहरूले दर्शनमा आफूलाई देखे,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको