
जनकपुरधाम:मधेश प्रदेशका शिक्षा तथा संस्कृृति राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा शिक्षा क्षेत्र नपर्नु दुर्भाग्य रहेको बताएका छन् ।
जनकपुरधाममा बिहीबार प्रदेशका माध्यमिक तहका विद्यार्थीद्वारा विज्ञान सामग्री प्रदर्शन कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री लेखीले शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले समुदायिक विद्यालयलाई आकर्षणको केन्द्रको रुपमा अघि बढाउनका लागि अभिभावक र सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
समाज विकास केन्द्रको आयोजना र शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा प्रदेशका आठ वटै जिल्लाका सहभागी भएका विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री लेखीले शिक्षा क्षेत्रलाई संघ सरकार र प्रदेश सरकारले प्राथमिकता नदिएको बताउँदै यसका लागि अभिभावक गम्भीर हुनुपर्ने उनले बताए ।
समाज विकास केन्द्र महोत्तरीकी अध्यक्ष रीना कुमारी मण्डलले मधेश प्रदेशका विद्यार्थीलाई विज्ञान, प्रविधि र सूचना क्षेत्रमा सहभागी गराउनुपर्ने आजको आधुनिक यूगको माग रहेको बताइन् । उनले यूग अनुसारको शिक्षाका लागि विज्ञान, प्रविधि र सूचना सबैको चासो रहेकाले यसलाई प्राथमिकताका साथ प्रदेश सरकारले यथेस्ट लगानी लगाएर विद्यार्थी र प्रदेशको भविष्यलाई सुरक्षित गर्नुपर्ने माग समेत गरिन् ।
प्रदेशका माध्यमिक तहका विद्यार्थीद्वारा विज्ञान सामग्री प्रदर्शनको क्रममा धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका विभिन्न समुदायिक विद्यालयका विद्यार्थीहरुले विभिन्न सृजनात्मक विज्ञान सामग्रीको प्रदर्शन गरेका थिए । सोको अवलोकन मन्त्री लेखीले समेत गरेका थिए ।