जनकपुरधाम:राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बागडोर सम्हाल्ने शक्तिशाली महामन्त्री मुकुल ढकालले पार्टीको पद त गुमाएका छन् नै, केन्द्रीय समितिबाट समेत बर्खास्तीमा परेका छन् । यसअघि पार्टी प्रवक्ता पदसमेत आफैंसँग राखेका ढकालसँग अब त्यो पद पनि रहेन ।

रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकले उनलाई तीनवटै जिम्मेवारीबाट निष्कासित गर्ने निर्णय ग¥यो ।

पार्टीको आचार संहिता विपरीत ढकालले गरेको गतिविधि, त्यसबाट पार्टीलाई पुगेको क्षति, अनि हदैसम्म कारबाही गर्न पार्टीको अनुशासन समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय समितिले यो निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले भने, ‘साधारण सदस्य कायम राख्ने गरी पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो ।’

त्यसअघि असार १९ गतेको केन्द्रीय समितिको बैठकमा मुखका टेप लगाएर बसेपछि रास्वपाले ‘पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अनुशासनहीन र पार्टी हित विपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको’ भन्दै ढकाललाई ७ दिनका लागि निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको थियो । समितिले २३ गते नै प्रतिवेदन बुझयो ।

अनुशासन समितिले ढकाललाई स्पष्टीकरण सोधेको थियो । तर उनले जवाफ दिएनन् । १९ गते सञ्चारमाध्यममार्फत् सार्वजनिक गरेको धारणा नै स्पष्टीकरण भयो भनेर खबर पठाएपछि समितिले (साधारण सदस्यता समेत नरहने गरी) हदैसम्म कारबाही गर्न सिफारिस गरेको थियो ।

त्ससपछि मंगलबार बसेको बैठकले महामन्त्री ढकालले पार्टी आचारसंहिताको दफा ४(१) को (क), (ख), (च), (प) र (फ), दफा ४(२) को (क) र (ख) दफा (५) को (क) र (ख), दफा ६ को (क) र (ख), अनि दफा ९ को (क), (ख), (ग) र (घ) उल्लंघन गरेको ठहर ग¥यो । यसले पार्टीलाई क्षति पुगेको ठहर गर्दै ढकाललाई साधारण सदस्य मात्र रहने गरी बाँकी सबै जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय लियो ।

ढकालले भने आफूमाथि कारबाही गरेकोप्रति तिखो रोष प्रकट गरेका छन् । रास्वपाको निर्णय सार्वजनिक भएपछि उनको संक्षिप्त प्रतिक्रिया छ, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको