जनकपुरधाम:लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस सरकारमा शामिल भएको छ । जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएसंगै मधेस सरकारमा शामिल भएको हो ।
मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरुलाई बिहिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी हुन् । एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएका थिए । लेखीलाई गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेबारी दिइएको छ । त्यस्तै जनमतबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको समर्थन फिर्ताको तयारी थालेको थियो । बिहीबार प्रदेश पार्टी कार्यालय जनकपुरमा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठक बसिरहेकै बेला अर्थसहित ४ मन्त्रालय कांग्रेसलाई दिन जनमत सहमत भएको थियो ।
सरकार विस्तार र मन्त्रालय बाँड्ने विषयमा जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धन दलका नेताहरुसँग बिहीबार छलफल गरेका थिए । मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी भएको छ । गठबन्धनमा रहेको लोसपाले २ मन्त्रालयको अडान राखेको थियो ।
तर, मुख्यमन्त्री सतिशकुमार सिँहले तत्काल एउटा मन्त्रालय लिएर पछि थप कुराकानी गर्ने भन्दै लोसपा नेपाललाई सरकारमा सहभागी गराउन लोसपाका प्रमुख सचेतक तिवारीलाई शिक्षा तथा सँस्कृति मन्त्रीमा नियुक्त गरे ।
‘हामीले दुईवटा मन्त्रालय माग गरेका छौँ । तर, मलाई मात्र शिक्षा तथा सँस्कृति मन्त्री नियुक्त गरिएको जानकारी मुख्यमन्त्रीले दिनुभयो, थप मन्त्रालय र मन्त्रीका लागि अब कुरा गर्नेछौँ,’ प्रमुख सचेतक तिवारीले भनिन् ।
यता मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि नेता कार्यकर्ता खुशियाली मनाएका छन् ।
जनकपुरधामस्थित कांग्रेसका प्रदेश पार्टी कार्यालयमा नेता कार्यकर्ताहरु खुशी मनाएका हुन् । मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय दिन नचाहेपछि कांग्रेस सरकार नै खसाउने चेतावनी दिएको थियो ।
प्रदेशमा सहमती नजुट्दा केन्द्रमै नेताहरुले अर्थ कांग्रेसलाई दिने निर्णय गरेको बुझिएको छ । कांग्रेसले अर्थ मन्त्रालय पाउनुलाई ठूलो जितको रुपमा लिएको छ ।
पार्टीका प्रदेश अध्यक्ष तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादव नवनियुक्त मन्त्रीहरुलाई खादा र अविर लगाएर बधाई दिएका छन् ।