जनकपुरधाम:प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ । उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् ।

नयाँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विश्वासको मत नदिने बताएको छ । एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्विप जारी गरिसकेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जनमत पार्टीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी पनि ओली नेतृत्वको सरकारमा सहभागी छ। उसले पनि ओलीलाई मत दिने निश्चित छ ।

अशोक राई नेतृत्वको जसपाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछ। उक्त दल पनि ओली नेतृत्वको सरकारमा सहभागी छ ।

नेपाली कांग्रेसले भने यही विषयमा निर्णय लिन आइतरबा संसदीय दलको बैठक बोलाएको छ । उसकै सहभागीतामा सरकार बनिसकेको हुँदा कांग्रेसले विश्वासको मत दिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको