वीरगञ्ज:बारा जिल्लामा आत्महत्याको घटना निकै बढेको छ । गत आर्थिक वर्षमा मात्रै १५६ जनाले आत्महत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाराले आर्थिक वर्ष २०८०-८१ को सार्वजनिक गरेको घटना विवरण तथ्यांकमा सो कुरा उल्लेख गरेका हुन ।

आर्थिक वर्ष २०८०-८१ मा ६८ महिला, ६४ पुरुष, सात बालक र २४ बालिकाले आत्महत्या गरेको हो । ०७९-८० मा ४६ महिला, ४९ पुरुष, आठ बालक र ३६ बालिकाले आत्महत्या गरेका थिए भने ०७८-७९ मा महिला ४७, पुरुष ४६, बालक आठ र बालिका २० जनाले आत्महत्या गरेका प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, आ.व २०७८-७९ मा दुई हजार २१३ उजूरीमध्ये एक हजार ४५० मिलापत्र भएका छन् भने २०७९-८० मा दुई हजार १४४ उजूरीमध्ये एक हजार ६६६ मिलापत्र भएको छ । आ.व २०८०-८१ मा एक हजार ९३६ उजूरीमध्ये एक हजार ७५० उजूरी मिलापत्र भएको तथ्याङ्क छ ।

आव २०८०-८१ मा दुई हजार ५४ किलो गाँजा, ४५ किलो २३ ग्राम चरेस, र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यस्तै, आव २०७८-७९ मा दुर्ई करोड ४३ लाख ८९ हजार, २०७९-८० मा १२ करोड ६१ लाख र २०८०-८१ मा ५७ करोड ४० लाख ३५ हजार सङ्कलन गरिएको थियो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ । यी प्रतिवादीबाट ७९ वर्ष तीन महीना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार २८८ रुपियाँ जरिवाना सङ्कलन गरिएको छ । आव २०८०-८१ मा एक हजार ३२२ मुद्दा दर्ता भएका र एक हजार ३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ ।

सोही अवधिमा ९२ वटा लागूऔषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेका छन् । प्रहरीले सातवटा हतियार र २० राउन्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार अवैध आर्थिक कारोबार ( हुन्डी )सम्बन्धी चारवटा मुद्दा दर्ता गरी आठजनालाई पक्राउ गरी ३८ लाख नौ हजार रुपियाँ बरामद गरिएको छ । सवारीसाधन ट्राफिक कारबाई अन्तर्गत ३४ हजार २८५ वटा सवारीलाई कारबाई गरी दुई करोड ९७ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको