जनकपुरधाम:नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।
झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । उनीहरूले झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहा गर्न माग गरेका हुन् ।
तर प्रहरीले भने उनीमाथि अन्तिम चरणको अनुसन्धान भइरहेको बताएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरी स्रोतको भनाइ छ ।
‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले भने, ‘सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’
सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोही अनुरूप अनुसन्धान अघि बढाएको छ ।
बन्दी प्रत्यक्षीकरणको निवेदन
झा पक्राउ पर्दा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । काठमाडौँ जिल्ला अदालतले झालाई अनुसन्धानका लागि थुनामा पठाएको छ । अहिले परिस्थिति फेरिएर नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्रीमा नेपाली कांग्रेसका रमेश लेखक छन् ।
उक्त निवेदन दुई पटक इजलासमा पेसी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ भएको छैन ।
जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको छ । झाका तर्फबाट छोरा दिव्यान्शु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उक्त निवेदन असार ३० गते दर्ता भएको थियो ।
उक्त निवेदन दुई पटक इजलासमा पेसी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ भएको छैन । पहिलो पटक न्यायाधीश विनोद शर्माको इजलासमा असार ३१ गते पेसी तोकिएको थियो । उक्त दिन झाका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ सारेका थिए ।
दोस्रो पटक साउन ६ गते (आइतबार) न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको थियो । आजको पेसी पनि झाकै कानुन व्यवसायीले निवेदन दिएर सारेका छन् ।
आफू अनुकूल न्यायाधीश नपरेका कारण उनीहरूले निवेदन दिएर पेसी सारेको देखिन्छ । झाका तर्फबाट आफू अनुकूल इजलास छान्ने (बेन्च सपिङ) गर्ने प्रयास भइरहेको देखिन्छ ।
झाका कानुन व्यवसायीले सर्वोच्च अदालतबाट अनुसन्धानका लागि आवश्यक भएको समयमा उपस्थित हुने सर्तमा झालाई छुटाउने प्रयासका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दिन लगाएको आशङ्का गरिएको छ । सर्वोच्च अदालतमा गोलाबाट पेसी तोकिन्छ । यसअघि साउनको पहिलो हप्ता सर्वोच्चले कममात्र मुद्दा पेसी तोकेको थियो । आइतबारदेखि सर्वोच्चले मुद्दाको सुनुवाइ अघि बढाएको छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदनसहित अन्य निवेदनलाई सुनुवाइ गर्न थालेको हो ।
झाका तर्फबाट छोराले गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गराइएको हो ।
झाका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन आइतबार पेसी स्थगित भएका कारण अब सोमबार वा मंगलबार नयाँ इजलासमा पेसी तोकिन्छ । निवेदकका कानुन व्यवसायीलाई दुई पटकसम्म मुद्दा हटाउने वा स्थगित गराउने अधिकार सर्वोच्च अदालतको नियमावलीले दिएको छ । त्यही अधिकार अन्तर्गत झाको निवेदन हटाएको देखिन्छ । तर अब भने हटाउन पाइने छैन ।
अबको पेशी जुन न्यायाधीशको इजलासमा परे पनि सुनुवाइ हुनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत यो दोस्रो चरणको अनुसन्धान हो । यसअघि पहिलो मुद्दा दायर भएर जिल्ला अदालतमा विचाराधीन छ । काठमाडौँ प्रहरी परिसरले यो मुद्दामा अनुसन्धान गरिरहेको छ ।