जनकपुरधाम:गएको असार २८ गते नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकोमा भारतीय विज्ञ टोलीले खोज्दासमेत फेला पार्न सकेको छैन ।

दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर हिजो (साउन ६ गते) देखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (आइतबार) सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको जनाएको छ ।

आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए ।

एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए ।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल सडजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएको छ ।

शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त वैठक बसी आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो ।

उक्त घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ। भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ ।

सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने २ वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने ५ वटा भारतीय नागरिकका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको