जनकपुरधाम:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका छन् । कांग्रेस र एमाले मिलेपछि प्रतिपक्ष कित्तामा हुत्तिएपछि पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा उनीहरुले आफूहरु एकै ठाउँमा रहेका सन्देश दिएका हुन् ।

कार्यक्रममा उनीहरुले कांग्रेस–एमालेले संविधान संशोधनको कुरा ल्याएकोप्रति आपत्ति जनाए । दुई ठूला दल मिलेर जनताको प्राप्त उपलब्धि र अधिकार खोस्न खोजेको उनीहरुको निष्कर्ष थियो ।

कार्यक्रममा प्रचण्डले भने, ‘दुई ठूला दल मिल्नु सामान्यत: स्वाभाविक हुँदैन । देशलाई दुई दलीय व्यवस्थामा लाने र संविधान संशोधनको उद्देश्य लिएर मिलेको देखिन्छ । जनताले लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्न हुँदैछ । त्यो हुन दिँदैनौं । आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं ।’

संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताउँदै उनले संशोधनको नाममा प्रतिगमनतिर फर्काउने प्रयास स्वीकार्य नहुने बताए ।

प्रचण्डले कांग्रेस–एमालेले थ्रेसहोल्ड ल्याएर साना पार्टीहरूलाई निस्तेज पार्न खोजेको आशंका व्यक्त गरे ।

संविधान संशोधनको बहस आवश्यक रहेको भए पनि गुपचुप गरेकाले आशंका देखिएको नेकपा एसका अध्यक्ष नेपालले बताए ।

उनले पनि संविधान संशोधनको नाममा अर्कै खेलोमेलो हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालभन्दा यो विषयमा कांग्रेस र एमालेप्रति नेता खनाल आक्रोशित सुनिए । नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए ।

समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनको भनाइ थियो ।

उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै, कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन्, किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।’

त्यसो त नेकपाकालमा ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल त्यसको विरुद्धमा माइतीघरको सडकमा पलेँटी बसेका थिए । अहिले पनि संविधान चलाउन खोजे सदनदेखि सडक चर्काउने अभिव्यक्ति दिँदै आएका नेताहरुले आफूहरु फेरि सडकमा बस्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको