
जनकपुरधाम:जागिर माग्दै कम्प्युटर अपरेटरका लागि लोक सेवा आयोगको तयारी गरेका विद्यार्थीहरुले मधेश सरकारका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
कम्प्युटर अपरेटरको करार होइन स्थायी जागिर देउ सरकार विभिन्न मागसहितका नाराबाजी गर्दै आइतवार लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ञअब आश्वासन होइन स्थायी जागिर देउ, करारमा भर्ना बन्द गर, कम्प्युटर अपरेटर स्थायी दरबन्दीका विज्ञापन गरझलगायतका माग सहितको नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागी कम्प्युटर अपरेटर तयारी कक्षा गरिसकेका विद्यार्थी गोपाल मण्डलले हामी तीन वर्षदेखि आन्दोलनरत छौ, तर मधेश सरकारले आफुहरूको मागप्रति चासो नलिएपछि मुख्यमन्त्री कार्यालय घेराउ गर्दै प्रदर्शन गर्न बाध्य भएका छौं । उनले थप्दै भने यो तीन वर्षको अवधिमा तीनवटा सरकार परिवर्तन भइसक्यो । तर आफुहरूको माग जस्ताको त्यस्तै छ आश्वासन बाहेक केही पाएका छौं ।
यस्तै अर्का विद्यार्थी मनिष यादवले भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा कम्प्युटर अपरेटरको स्थायी विज्ञापन गरि भर्ना गर्दै आएको छ । तर मधेश प्रदेशमा लोक सेवाबाट प्राविधिकतर्फ करारमा मात्रै विज्ञापन गर्दा करारको जागिर ग्यारेन्टी नहुंदा स्थायी दरबन्दीका लागि आफूहरु आन्दोलन गर्न बाध्य भएका हौं ।
आन्दोलन विद्यार्थीहरूले मुख्यमन्त्री समक्ष आफ्ना कुरा राख्न भेट गर्न चाहदा, मुख्यमन्त्री सचिवालयको आदेशमा सुरक्षाकर्मीले भेट गर्न नदिएपछि विद्यार्थीहरू झन आक्रोशित भई मुख्यमन्त्री विरूद्ध चर्को नाराबाजी गरेका थिए । भेट गर्न नदिएपनि मुख्यमन्त्री कार्यालय भित्रबाट आएर कर्मचारीले बाहिर ज्ञापन बुझेर उनीहरुलाई भित्र प्रवेश गर्न दिएन ।
मधेश प्रदेशमा रिक्त रहेको कम्प्यूटर अपरेटर पदहरुमा विज्ञापन खुल्ला गरी कर्मचारी भर्ना गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित लोकसेवा आयोग मधेश प्रदेशसहित अन्य निकायमा समेत ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएको हो ।