
काठमाडौँ:शोधकर्ताहरूले मस्तिष्क प्रत्यारोपण प्रविधिले अन्तत: बिरामीहरूलाई सामान्य मानिसको दृष्टिभन्दा राम्रो दृष्टि प्रदान गर्नसक्छ भन्ने अर्बपति एलन मस्कको आलोचना गरेका छन् ।
मस्कले लामो समयदेखि उहाँको न्युरालिङ्क कम्पनीले अन्धाहरूलाई दृष्टि प्रदान गर्नसक्ने प्रत्यारोपणमा काम गरिरहेको बताउनुभएको छ । उहाँले मार्चमा सामाजिक सञ्जाल एक्समा आफ्नो १९ करोड अनुयायीलाई उक्त उत्पादनको नाम ‘ब्लाइन्डसाइट’ रहने बताउनुभएको थियो ।
उत्पादनले पहिलादेखि नै बाँदरमा काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “रिजोल्युसन पहिला निनटेन्डो ग्राफिक्सजस्तै सानो हुनेछ तर अन्तत: सामान्य मानव दृष्टिभन्दा धेरै हुनसक्छ ।”
तर वासिङ्टन विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक इओन फाइनले भन्नुभयो, “यसो भन्नु खतरनाक कुरा हो ।” उहाँले साइन्टिफिक रिपोर्ट्स जर्नलमा सोमबार प्रकाशित लेखमा सहलेखन गर्नुभएको थियो । उक्त लेखमा त्यस्ता प्रत्यारोपणहरूले कसरी काम गर्न सक्छ भनेर अनुकरण गर्न ‘भर्चुअल बिरामीहरू’ भनेर चिनिने मोडेलको प्रयोग गरिएको छ ।
मस्कसहित नयाँ प्रत्यारोपणहरूको प्रभाव मानव जीवविज्ञानद्वारा सीमित हुनसक्ने लेखमा तर्क दिइएको छ । फाइनले आँखाबाट प्राप्त जानकारीलाई प्रशोधन गर्ने मस्तिष्कको क्षेत्र भिजुअल कोर्टेक्समा लाखौँ साना इलेक्ट्रोड प्रत्यारोपण गरेर उच्च–रिजोल्यसुन दृष्टि सिर्जना गर्न सकिन्छ भन्ने मस्कको विचार त्रुटिपूर्ण रहेको बताउनुभयो ।
“इन्जिनियरले प्राय इलेक्ट्रोडलाई पिक्सल बनाउने भनेर सोच्छन् तर जीवविज्ञानले यस्तो तरिकाले काम गर्दैन”, उहाँले भन्नुभयो ।