
जनकपुरधाम:आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनले मकवानपुरकी किशोरी फूलमाया रुम्बालाई सिन्धुपाल्चोकको आश्रमबाट बेपत्ता बनाएको अस्वीकार गरेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ की फूलमायाका बुबा वीरबहादुर रुम्बाले सिन्धुपाल्चोकको आश्रमबाट बम्जनले आफ्नी छोरी बेपत्ता बनाएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा बम्जनविरुद्ध मुद्दा दायर भएको थियो ।
त्यसअघि नै सिन्धुपाल्चोक लगेर बम्जनको बयान गराइएको थियो । तर बम्जनले सरकारी वकिल कार्यालयमा भएको बयानमा आफूमाथि लागेका सबै आरोपमा इन्कार गरेका छन् ।
सोमबार अदालतले उनीसँग फूलमाया बेपत्ता बनाएको आरोपमा तीन लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । यसअघि नै बाल यौन दुरूपयोगको कसुरमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई यो मुद्दाको लागि सिन्धुपाल्चोक लगिएको थियो ।
बम्जन फरार हुँदा उनीविरुद्धका कुनै पनि मुद्दा अगाडि बढ्न सकेका थिएनन्। तर गएको पुसमा काठमाडौँबाट पक्राउ गरेर सर्लाही लगेसँगै उनीविरुद्ध परेका सबै उजुरीमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बम्जनले सञ्चालन गरेको आश्रममा २०७१ सालदेखि आफ्नी छोरी हराएको रुम्बाको जाहेरीमा उल्लेख छ । फूलमाया उनकै आश्रममा बसेर काम गर्थिन् । तर बम्जनका कुनै पनि आश्रममा फेला नपरेको भन्दै रुम्बाले बम्जनविरुद्ध सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए ।
तर रामबहादुर बम्जनले भने फूलमायालाई आफूले नचिनेको बयान दिएका छन् ।
‘मलाई यस मुद्दामा जाहेरी दरखास्त दिने जाहेरवाला वीरबहादुर रुम्बालाई मैले चिनेको छैन । निज जाहेरवालाको छोरी फूलमाया रुम्बा कहिले कुन मितिदेखि मेरो आश्रममा आई ज्ञान प्राप्तिको लागि बसेको हो मलाई जानकारी भएन,’ उनले बयानमा भनेका छन्, ‘जाहेरवालाको छोरीलाई म बस्दै आएको कुनै पनि आश्रममा आई कामकाज गरी ज्ञान प्राप्तिको लागि बसेको मलाई एकिन थाहा भएन ।’
बाराकै स्कुलमा कक्षा ५ सम्म लेखपढ गरेका बम्जनले १७ वर्षको हुँदा हलखोरिया जंगलमा ध्यान गर्न थालेका थिए । करिब ८ वर्ष सोही जंगलमा ध्यान गरेपछि सर्लाहीको पत्थरकोटमा अस्थायी आश्रममा गई आफ्ना भक्तजनलाई ‘ज्ञान’ बाँड्न थालेका थिए ।
त्यसपछि सिन्धुलीको पहिरेमा स्थायी रूपमा बस्न थालेका थिए । बेला बखतमा सिन्धुपाल्चोकको टोड्के भिरमा रहेको आश्रममा समेत जान्थे । तर यी कुनै पनि आश्रममा आउने भक्तजनहरूलाई आफूले नचिन्ने उनले बताएका छन् । फूलमाया रुम्बालाई आफू बस्दै आएको कुनै पनि आश्रमबाट बेपत्ता पार्ने कार्य नगरेको उनको जिकिर छ ।
फूलमाया बम्जनको आश्रममा जानुपहिले मकवानपुरकै नेवारपानीमा रहेको डोदोन छोलिङ बौद्ध गुम्बामा ३ वर्ष तीन महिना बसेकी थिइन् । आफन्तले दिएको बयान अनुसार बम्जनले तपस्या गरेर बुद्धत्व प्राप्त गरेको भन्ने सुनेपछि फूलमाया २०६८ सालमा उनको आश्रममा गएकी थिइन् ।
२०७० सालको माघमा आउँदा उनलाई निक्कै चिन्तित अवस्थामा भेटेको फूलमायाकी फुपू सुन्तली गोलेले बताएकी छन् ।
‘फूलमायालाई रोइरहेको देखेपछि के भयो भनि सोध्दा उनले जे भए पनि मेरो एउटा जीवन दान दिनलाई केही छैन, म खुसी नै छु भनी रुँदै गरेपछि मैले त्यसो भए अब त्यहाँ नजाऊ भन्दा उसले होइन म जानुपर्छ भनिन् । उनले गुरु (रामबहादुर बम्जन) लाई खाना बनाई खुवाउने काम गर्छु, एकछिन पनि छोड्न मिल्दैन भनेकी थिइन्,’ सुन्तलीले बयानमा भनेकी छन् । त्यसपछि फूलमायासँग आफ्नो भेट नभएको उनको बयान छ ।
बम्जनको बोधी आश्रममा गुरु सरोज तितुङले भने २०७१ सालमा आफू पुग्दा फूलमायालाई उक्त आश्रममै देखेको बयान दिएका छन् । उनी आनीको रूपमा आश्रममा रहेको देखेको तर आश्रमको नियम अनुसार महिला र पुरुष बोल्न नमिल्ने उनले बताएका छन् । तर २०७३ साल जेठ २२ गते रामबहादुर बम्जन बाँडेगाउँ आश्रमबाट सर्लाहीको पत्थरकोट गएका थिए ।
‘सर्लाहीको आश्रममा जाँदा गुरुआमा भनिने एकजना महिलासहित अन्य तीनजना आनी र ५-६ जना पुरुष भिक्षुसँग जानु भएको थियो । फूलमाया रुम्बा गुरुमा त्यसभन्दा अगाडि नै बाँडेगाउँ आश्रमबाट निस्केर गइसक्नु भएको थियो,’ सरोज तितुङले बयानमा भनेका छन् ।
त्यसपछि फूलमाया उक्त आश्रममा फर्केर आएको नदेखेको पनि उनले बताएका छन् । २०७५ पुस २७ गतेदेखि मात्रै आश्रममा आउने जानेको नाम दर्ता गरी राख्ने गरेको उनले बताएका छन् ।
बम्जनलाई व्यक्ति बेपत्ता पारेको कसुरमा १५ वर्षसम्म कैद र पाँच लाख रूपैयाँ जरिवानाको माग गरिएको छ । यस्तै बालबालिका सम्बन्धी कसुरमा थप दुई वर्ष कैदको माग पनि गरिएको छ ।
सिन्धुपाल्चोकपछि अब बम्जनलाई अन्य कसुर गरेको जिल्लामा उपस्थित गराइने प्रहरीले जनाएको छ ।