जनकपुरधाम:नेपाली शास्त्रीय संगितको धरोहरको रुपमा गुरुदेव कामतलाई चिनिन्छ । उनै कामतले बिहिबार यो मरुस्थल मात्रै नभई आफ्नो देह त्याग गर्दै संसारबाट विदा भएका छन् । मृगौलाको समस्याबाट पीडित रहेका कामतले ६९ वर्षको रुपमा मृत्युवरण गरेका हुन् । संयोग भनौँ उनी जन्मेकै दिन आफ्नो देह त्याग गरे ।

शास्त्रीय संगीतमा महारथ हाशिल गरेका कामतको जन्म २०१२ साउन १७ गते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिन्डामा भएको थियो ।

काठमाडौँमा बसेर उपचार गराउन नसकेपछि उनी गत असार २९ गते मात्रै जन्मथलो फर्किएका थिए । डाइलाइसिस गराइरहेका उनको केही समयपछि मृगौला प्रत्यारोपण गर्ने तयारी समेत भईरहेको थियो ।

कामत ६ वर्षकै उमेरदेखि संगीतको यात्रामा लागेका थिए । भारतबाट संगीतमा स्नातकोत्तर गरेर कामत २०४६ सालमा नेपाल फर्किएर गीत संगीत साधनामा लागेका थिए । २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा उनी प्रथम भएका थिए ।

२०५० सालमा पहिलो गीत ल्याएका कामतले तीन सयभन्दा धेरै नेपाली, मैथली, भोजपुरी र हिन्दी भाषाका गीतमा स्वर दिएका छन् । दर्जन बढी संगीतको सिर्जना पनि गरेका छन् ।

प्रबल जनसेवाश्री लगायत थुप्रै सम्मान पाएका कामतलाई मैथली गीत संगीतमा विशेष योगदान दिएको भन्दै मिथिला रत्नदेखि मधेस रत्न उपाधिबाट समेत सम्मानित गरिएको छ ।

लगभग ४० वर्ष लामो सांगीतिक यात्रामा उनले हजारौँलाई संगीत सिकाए । उनले गुरुकुल संगीत पाठशालासमेत सञ्चालन गर्दै आएका थिए । तर, कोरोना महामारीपछि पाठशाला सञ्चालनमा कठिनाइ भएको थियो ।

काठमाडौँमै भाडाको डेरामा बसेर उनले आफूसहित परिवारको जिम्मेवारी लिएका थिए । यस क्षेत्रमा लागेपछि नाम कमाए पनि आफूले पैसा कमाउन नसकेको उनी भन्ने गर्थे । काठमाडौँ बसाइँमा कमाएको जति सबै घरधनीलाई बुझाउनुपरेको उनले एउटा टीभीको अन्तर्वार्तामा बताएका थिए ।

उनले गाएका ‘उठु यौ मैथिल भेलै भोर’, ‘धर्ती मैया हुकैर हरल छौ’, ‘हमर सिन्दुरक धुल उडाक’, ‘वित–वित पर लक्ष्मण रेखा’, ‘कहाँ गैले सुरमा–सल्हेश’ निकै चर्चित गीत हुन् ।

त्यसैगरी मेरो हजुरको तनमा, तिमी नै भन, प्रेमको नशा, मैले खुसी पाउँदा लगायतका गीतमा पनि उनले स्वर दिएका थिए । कामतका तीन छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको