जनकपुरधाम:निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाट बाहिरिने मात्रै आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ बाँडेको पाइएको छ ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम उनले २०८१ असार महिनामा वितरण गरेका थिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड नेतृत्व सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । त्यसपछि गत असार ३१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच असार १७ गते नयाँ गठबन्धन बनेपछि असार १९ गते एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए तर, उनले पाएनन् ।
अर्थ मन्त्रालयका अनुसार प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०÷०८१ को (२०८० साउनदेखि २०८१ जेठसम्म) पहिलो ११ महिनामा आर्थिक सहायताका नाममा दुई करोड ५१ लाख ९५ हजार ९३५ रुपैयाँ वितरण गरेका थिए ।
तर, सरकारबाट हट्ने भएपछि गत असारमा मात्र प्रचण्ड नेतृत्वको सरकारले एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेका थिए । यस्तो रकम अधिकांश पहुँचवाला नेता तथा कार्यकर्तालाई वितरण गर्ने गरिन्छ ।
गत आर्थिक वर्ष प्रचण्ड नेतृत्वको सरकारले तीन करोड ७५ लाख ५० हजार ३१२ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरिएको थियो ।