
काठमाडौँ:इरानमा बिहीबार हमासका शीर्ष नेता इस्माइल हानियाको शव यात्रामा हजारौँ मानिस सहभागी भएका छन् ।
हानिया बुधबार तेहरानमा भएको आक्रमणमा मारिएका थिए । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास नेताका लागि प्रार्थना गरेका छन् । हानियाको शवलाई कतारमा दाहसंस्कार गरिने भएको छ ।
हानियाको हत्या भएपछि खामेनीले भनेका थिए, ‘हमास नेताको मृत्युको बदला लिनु इरानको कर्तव्य हो ।’
अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै खामेनीले इजरायलविरुद्ध प्रत्यक्ष हमला गर्न आदेश पनि दिएको बताइएको छ ।
तेहरानमा भएको आक्रमणको इरानले इजरायललाई जिम्मेवार ठहर गरेको छ । तर इजरायलले अहिलेसम्म यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको बताएका छन् । जसमा तेहरान आक्रमणको केही घण्टाअघि लेबनानमा एक वरिष्ठ हिजबुल्लाह कमान्डर मारिएको घटना पनि पर्छ ।