जनकपुरधाम:सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै कार्यविभाजन गरेको छ । पछिल्लो कार्यविभाजनमा एमाले सचिव रघुवीर महासेठले पार्टीमा परराष्ट्र मामिला विभागको नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।
धनुषाका महासेठले परराष्ट्रको जिम्मेवारी पाएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । ‘परराष्ट्रतिर कुनै लगाव छैन, त्यस सम्बन्धी ज्ञान र अध्ययन पनि छैन । न पकड नै छ । तर उनले किन परराष्ट्र पाए ?’, एमालेभित्रका धेरैको मनमा यो प्रश्न घुमेपनि बाहिर व्यक्त गर्नचाहिँ सकेका छैनन् ।
तर सचिव महासेठले परराष्ट्र विभाग आफैले रोजेर लिएका हुन् । एमाले स्रोतका अनुसार पार्टीले उनलाई प्रदेश इन्चार्ज प्रस्ताव गरेको थियो तर त्यसमा चित्त नबुझाएका महासेठले परराष्ट्र नै चाहिने बताएका थिए ।
त्यसो त एमाले नेताहरूको कार्यविभाजनमा अरू अरू नेताले पनि आफ्नो चाहना अनुसार कार्यक्षेत्र रोजेका थिए तर सचिव महासेठ नै यस्तो भाग्यमानी भए जसले आफूले रोजकै विभाग पाउन सफल भए ।
‘हो, मैले आफ्नो रुचि अनुसार नै परराष्ट्र विभाग लिएको हुँ लामो समय प्रदेशमा काम गरेका कारण त्यता नगएर परराष्ट्रमा मलाई पहिलादेखि रुचि भएर नै पार्टीको निर्णय अनुसार यो जिम्मेवारी पाएको हुँ’, महासेठको भनाइ छ ।
एमालेमा यसअघि परराष्ट्र मामिलाका जानकार रहेका राजन भट्टराई परराष्ट्र विभाग प्रमुख थिए । उनलाई अहिले एमालेले बागमती प्रदेशको इन्चार्ज बनाएको छ ।
पटक पटक भौतिक मन्त्री भइसकेका महासेठ दुई पटक उपप्रधानमन्त्री पनि बने । महासेठ २०७८ मा परराष्ट्र मन्त्री बनेपनि लामो समय काम गर्न पाएनन् । छोटो समय परराष्ट्र मन्त्रीको अनुभव संगालेकाले पनि महासेठमा त्यसतर्फ रुचि बढ्यो ।
यसअघि महासेठले पार्टीको कोशी प्रदेश इन्चार्ज, मधेस प्रदेश इन्चार्ज, निर्वाचन विभाग प्रमुख, भौतिक पूर्वाधार विभाग प्रमुख जस्ता जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय विषयवस्तु चुनौतीका विषयवस्तु हुन् तर त्यो चुनौतीको सामना गर्दै पार्टीसँग अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन आफ्नो भरपुर कोसिस हुने महासेठको भनाइ छ ।
नेपालमा भूराजनीतिको अवस्था तीव्र रूपमा अगाडि बढिरहेको छ, त्यस बिचमा पार्टीसँग अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अगाडि बढाउने भन्नेमा आफूले भूमिका खेल्ने महासेठ बताउँछन् । यतिवेला एमाले नेतृत्वसँग भारतको त्यति सुमधुर सम्बन्ध छैन, त्यहीँ सम्बन्ध बनाउनका लागि पनि महासेठलाई परराष्ट्र विभागको जिम्मेवारी दिएको हुनसक्ने कतिपय नेताको बुझाई छ । एमाले नेतृत्व र भारतबिचको सम्बन्धबारे रातोपाटीको जिज्ञासामा उनले भने, ‘एमाले र भारतबिच सम्बन्ध राम्रो छैन भन्ने धेरैलाई भ्रम छ, यो भ्रमबाट मुक्त हुन आवश्यक छ ।’
महासेठले थप प्रस्ट्याउँदै भने, ‘एमाले र भारत बिच धेरै राम्रो सम्बन्ध छ, कुनै इस्युमा कुरा तलमाथि भएको होला त्यो बेग्लै हो तर पार्टीगत सम्बन्ध राम्रो छ यसमा भ्रम नपाल्दा हुन्छ ।’ कतिपय व्यक्तिहरूले एमाले र भारत बिचको सम्बन्ध राम्रो नहोस् भन्ने चाहेपनि त्यो सफल नहुने उनले बताए । ‘भारत र चीनलगायत अन्य देशसँग पनि एमालेको राम्रो सम्बन्ध छ । यसलाई अझ बलियो बनाउनुपर्छ’ उनको भनाइ छ ।
भारतसँग कुनै कुरामा असमझदारी छ भने त्यसलाई छलफल र संवादको माध्यमबाट समाधान गर्न सकिनेमा महासेठको जोड छ । ‘पञ्चशिल सिद्धान्तको आधारमा नेपालको र पार्टीको हित हुने गरी काम गर्छु’, महासेठको भनाइ छ ।
महासेठ अनेरास्ववियुको विद्यार्थी राजनीतिमार्फत एमालेको राजनीतिमा जोडिएका हुन् ।
२०५१ मा तत्कालीन एमालेको सरकार हुँदा उनी उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष भएका थिए । २०६५ मा संविधानसभा उपनिर्वाचन जितेका महासेठ २०७४ बाट एकाएक शक्तिमा पुगेका हुन् ।
२०७४ र २०७९ मा उनले धनुषा–४ बाट चुनाव जितेका महासेठ त्यसपछि उपप्रधान र मन्त्री बन्दै आएका छन् ।
अध्यक्ष केपी शर्मा अोली निकट मानिएका महासेठ माओवादी–एमाले गठबन्धनको सरकार बन्दा महासेठकै नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो ।