जनकपुरधाम:गत साउन ६ गतेको संसद् बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई घुस दिएर काम गरेको बताएका थिए । पूर्वमन्त्रीले नै घुस खुवाउनुपरेको खुलासा संसदमा गरेपछि धेरै मानिस आश्चर्यमा परेका थिए ।

तर, अनुसन्धानबाट महतोले झुटो बोलेको पाइएको छानबिन समितिले जनाएको छ । सांसदले संसदमा भनेजस्तो कर्मचारीलाई रकम दिएर काम लगाएको नपाइएको छानबिन समितिका संयोजक वसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

जसपा सांसद महतोले आफ्नो छोराको समकक्षता लिन पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई बिचौलियामार्फत् पाँच हजार रूपैयाँ घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

संसदको रोस्ट्रमबाटै सांसदले यस्तो बताएपछि शिक्षा मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिलाई यथार्थ विवरण पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका अधिकृत पुष्पा वाग्ले सदस्य रहेको उक्त समितिले छानबिनपश्चात् मंगलबार शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

‘हामी सम्बन्धित निकायमा गयौँ, त्यो शाखामा काम गर्ने कर्मचारी, जसलाई माननीयज्यूले भन्नुभएको छ, त्यो व्यक्ति, त्यहाँ तत्काल उपस्थित भएका सेवाग्राहीसँग पनि कस्तो छ सेवा भन्ने विषयमा कुरा ग¥यौँ, सम्बन्धित माननीयज्यू, अनि सेवाग्राही (जसको विषयमा त्यहाँ कुरा उठान भएको थियो), उहाँहरूसँग छलफल ग¥यौँ, दुवै पक्षको कुराको भेरिफिकेसन ग¥यौँ। भेरिफिकेसन गर्दा उहाँले जुन हिसाबले कुरा उठान गर्नुभएको छ, त्यो र त्यहाँको वस्तुगत तथ्यबीच कुरा मिलेन । सारमा भन्दा जुन हिसाबले त्यहाँ प्रतिनिधि सभामा कुरा उठेको थियो, त्यो अनुसार छैन,’ समितिका संयोजक कोइरालाले भने ।

‘उहाँले जसलाई दिएको थिएँ भन्नुहुन्थ्यो, त्यो मान्छे अफिसको कर्मचारी पनि होइन । उहाँहरूको हतारोलाई हेर्दा कसैले सहयोग गरेको देखिन्छ काम गर्नलाई, त्यो को हो भन्ने कुरा कसैलाई थाहै छैन,’ उनले भने ।

छानबिन समितिसँग महतोले आफूले भावनामा बगेर त्यो प्रसङ्ग जोडेको बताएका छन् ।

‘उहाँले उठाउनु भएको विषय पनि एउटा सेन्टिमेन्टमा उठाएको हो भन्ने खालको कुरा आयो,’ सांसदले छानबिन समितिसँग भनेको कुराबारे कोइरालाले भने, ‘प्रतिनिधि सभामा उठाएको कुरा एउटा सन्दर्भमा उठान गरेको भयो, त्यहाँ भएकै घटना अथवा त्यस्तै किसिमको घटना भएको छ त्यहाँ भनेर मैले पूरै भनेको होइन, त्यहाँ कामको सिलसिलामा यस्तो हुन्छ नि भन्ने खालको कुरा गरेको भन्नुभयो ।’

तर, सांसद महतोले साउन ६ गतेको बैठकमा आफ्नो छोराको समकक्षता लिन जाँदा शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस बुझाएको बताएका थिए ।

सेवाग्राहीले अनलाइनबाटै सेवा लिन सक्ने भएकाले त्यहाँ गएर घण्टौँ कुर्न नपर्ने भन्दै कोइराला भन्छन्, ‘हाम्रोमा सिस्टम के हो भन्दा सेवाग्राही सेवा लिनलाई आइरहनु पर्दैन, सबै कुरा हाम्रो अनलाइन सिस्टमबाट हुन्छ । विद्यार्थीहरूले समकक्षता लिन अफिस पुगिराख्नु पर्दैन ।’

सांसदले सदनमा घुस दिएको बताएपछि शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्र अन्तरगतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाका अधिकृतलाई छानबिन हुन्जेलसम्मका लागि भन्दै जिम्मेवारीबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको