जनकपुरधाम:धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ९मा सार्वजनिक सडक मिचेर निजि घर बनाएको पाइएको छ । मिथिला विहारी ९ अन्दुपट्टीमा रातारात सडक हटाएर सडककै जग्गामा निजि घर बनाइएको आरोप लगाइएको छ ।
अन्दुपट्टीका इन्दलप्रसाद यादवका अनुसार शक्तिको आडमा अन्दुपट्टीदेखि बघचौडासम्म जाने सडक मिचेर स्थानीय दीपेन्द्र यादवले निजि घर बनाएको आरोप लगाएका हुन् । उनका अनुसार तत्कालिन गाविस अन्दुपट्टी कटरैतको परिषदबाट अन्दुपट्टीदेखि बघचौडा जाने बाटो निर्माण गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार नेपाल सरकारको बजेट र स्थानीयको श्रमदानमा १८ फिट चौडाई भएको सडकको निर्माण गरिएको थियो । २०७९ सालमा निर्माण गरिएको सो सडकमा आफ्नो निजि जग्गामा रहेको भन्दै राजकुमारी देवी धनुषा जिल्ला अदालत पुगेका थिए । तर अदालतले सडक नै रहेको भनेपछि उनी पुन: पुनरावेदन गर्दै उच्च अदालत जनकपुर पुगिन । उच्च अदालत जनकपुरले समेत उनीबिरुद्ध फैसला सुनाएको यादवले बताए । अदालतले सडक रहेको फैसला सुनाई सकेको अवस्थामा समेत शक्तिको आडमा सडकको जग्गा मिचेर निजि घर रातारात निर्माण गरिएकोमा स्थानीय किसुन यादवले आपत्ति जनाए । उनले वडाध्यक्ष विन्देश्वर यादवकै सम्बन्धित व्यक्ति रहेकाले उनी स्वयं उपस्थित रहेर सडक मिच्न लगाएको आरोप लगाए ।
यता दीपेन्द्र यादवले आफूले सडक नमिचेको दावी गरेका छन् । उनले त्यो आफ्नो निजि सम्पति रहेको र नापीमा समेत सडक नरहेकाले आफूलाई परेशान गर्ने हिसाबले यस्तो हथकण्डा अपनाइएको आरोप लगाए । अदालतको यो जग्गाको विषयमा कुनै किसिमको फैसला नरहेको उनले दावी गरे । दीपेन्द्रले अदालतले फैसला गरेको भए आफूहरुलाई समेत सो विषयमा जानकारी हुनु पर्ने नि भन्दै प्रतिप्रश्न गरे । उनले आफूहरुबिच अन्य विभिन्न मुद्दा रहेपनि जग्गाको विषयमा कुनै किसिमको मुद्दा नरहेको दावी गरे ।