जनकपुरधाम:नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले शास्त्रीय संगीतकार गुरुदेव कामतको उपचार नपाएर मृत्यु हुनु राज्यका लागि लज्जास्पद विषय भएको बताएका छन् ।
निधि शनिबार कामतको जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिण्डास्थित घर पुगेर आर्थिक समस्याका कारण उपचारकै अभावमा उनको मृत्यु हुनु राज्यका लागि लज्जास्पद विषय भएको बताए ।
’मृत्युपछि मात्रै उहाँ बिरामी हुनुहुन्थ्यो भन्ने कुरा मलाई थाहा भयो, यो मृत्यु राज्यका लागि लज्जास्पद हो,’ उनले भने, ’यसको दोष म अरूलाई दिन्न, हामी नै अहिले सत्तामा छौं, म क्षमायाचना गर्न चाहन्छु ।’ कामतको मृत्युले नेपालको कला र संगीत क्षेत्रमा अपूर्णीय क्षति भएको पनि उनले उल्लेख गरे ।
उनको मृत्युको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको र केन्द्र सरकारले पनि यो गर्नुपर्ने उनले माग गरे । ’प्रदेश सरकारले शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको छ, केन्द्र सरकारले पनि यस्तो निर्णय गर्नुप¥यो शोक प्रकट गर्नुप¥यो,’ उनले भने, ’उहाँ राष्ट्रकै धरोहर र सम्पत्ति हुनुहुन्थ्यो ।’
कामतको विषयमा अब सरकारले के सोचेको छ ? भन्ने प्रश्नमा नेता निधिले उनका कृतिहरूलाई अमर राख्न र उनले संगीत क्षेत्रमा गर्दै आएका प्रयत्नलाई निरन्तरता दिन एउटा संस्था आवश्यक रहेको र यसका लागि पहल गर्ने जनाए ।
’सरकारले उहाँको विषयमा के सोचेको छ त्यो थाहा छैन, तर सरकारले सोच्नैपर्छ’ उनले भने, ’उहाँको नाममा सरकारले वा उहाँका शिष्यहरू एउटा संस्था निर्माण गर्नुपर्छ, यसका लागि म सम्बन्धित ठाउँमा पहल गर्छु ।’
मृगौला पीडित शास्त्रीय संगीतकार कामतको बिहीबार बिहान साढे ७ बजे आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको थियो ।
उनी काठमाडौंमा आर्थिक संकटका कारण उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र जन्मथलो फर्किएका थिए । त्यसयता लहानस्थित प्रादेशिक अस्पतालमा उनको डायलासिस हुँदै आएको थियो ।