जनकपुरधाम:नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार दिउँसोसम्म १५० जनाको मृत्यु भएको छ । विपद्मा परी देशभर ४९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५ जनाको मृत्यु भएको छ । मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी १५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा १०, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा १०, वाग्मतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा ११, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १७७ जना घाइते भएका तथ्यांक छ ।
बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४२, गण्डकीमा दुई, लुम्बिनीमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता छन् ।
काठमाडौं उपत्यकामा २६, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी १०८ जनाको उद्धार गरिएको छ ।
यो अवधिमा विपद्का घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।