जनकपुरधाम:गत साउन १५ गते चन्द्रलोक प्रतिष्ठानले जनकपुरधामको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थान सम्मान २०८१बाट सम्मानित गर्यो । त्यसको २ दिन नबित्दै कक्षा १२को परिक्षाफल प्रकाशित गरियो । प्रकाशित परिक्षाफलमा संकटमोचन विद्यालयबाट परिक्षामा शामिल भएका विद्यार्थीहरु अनुतीर्ण भए । उतीर्ण भएका विद्यार्थीहरु समेत उत्कृष्ट नतिजा भने निकाल्न सकेनन् ।
हुन त संकटमोचन विद्यालयले जनकपुरधामका कयौँ होनहार व्यक्ति यो देशलाई दिएको छ । यहाँबाट शिक्षा आर्जन गरेका विद्यार्थी उच्च ओहदासम्म समेत पुगेका छन् । तर पछिल्लो समय यो विद्यालयले आफ्नो साख अनुसारको परिणाम भने निकाल्न सकेको छैन । संघ सरकार तथा प्रदेश सरकारका साथै स्थानीय सरकारले यो विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने लक्ष्य अनुरुप समय समयमा सहयोग गर्दै आईरहेको छ । तर नमूना विद्यालयको यो हविगतबाट सम्बन्धित निकाय भने चिन्तित देखिएका छन् ।
भनिन्छ नि साख बनाउनु त्यती गाह्रो हुँदैन जति गाह्रो त्यो साखलाई जोगाई राख्न हुन्छ । यसमा कुनै सन्देह छैन संकटमोचन विद्यालय यो क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा वर्षोदेखि रहँदै आएको छ । तर यस वर्षको कक्षा १२को परिणामले सो विद्यालयको साखमा धब्बा लगाएको छ । सो विद्यालयबाट परिक्षामा सहभागी कुल विद्यार्थीको २० देखि २५ प्रतिशत मात्रै विद्यार्थी उतीर्ण भएको पाइएको छ । यसले विद्यालय अहिले आएर नाम मात्रको नमूना रहेको र शैक्षिक स्तर दिनदिनै खस्किदै गईरहेको छ । यसको मूल कारण असमान दरबन्दी रहेको कतिपयको बुझाई छ । एक शिक्षकका अनुसार विद्यार्थी अनुपातमा शिक्षक नहुँदा समस्या भईरहेको बताए । यो स्थितिमा परिवर्तन ल्याउन शिक्षक अभावको समस्या समाधान हुनु अति आवश्यक रहेको बताए ।