
शेष हसिना राजिनामा दिदै देश छोडिन्
कसरी सत्ताबाट च्यूत भइन् हसिना ?
जनकपुरधाम:गत महिना सुरु भएको आरक्षणविरोधी आन्दोलनको बाढीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको कुर्सी बगाएको छ । ३०० भन्दा बढीको मृत्युपछि हसिना राजीनामा दिएर देशबाटै भाग्न बाध्य भएकी छन् । प्रदर्शनकारीहरू उनको सरकारी निवासमा समेत प्रवेश गरेका छन् ।
विद्यार्थी आन्दोलनको दवाव थाम्न नसकेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छोडेकी छिन् । प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् ।
रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिने तयारीमा बंगलादेशको सेना लागेको छ । सेना प्रमुख जनरल वाकर उज जमानले देशबासीका नाममा सम्बोधन गरेका छन् ।
देशबासीका नाममा सम्बोधन गर्दै उनले बंगलादेशमा अन्तरिम सरकार बनाउने बताएका छन्। त्यसबारे राजनीतिक दलहरुसँग गरेको समेत उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सेना प्रमुखले अब राष्ट्रपतिसँग भेटका लागि समय मिलाएको बताएका छन् । उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
कस्तो खालको सरकार बन्छ भन्ने चाहिँ उनले खुलाएका छैनन् ।
बंगलादेशमा कुनै संकटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरुलाई केही समय दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
२००९ देखि मुलुकमा शासन गरिरहेकी ७६ वर्षीया हसिना राजीनामा घोषणा पनि रेकर्ड गर्न नपाई सेनाको हेलिकोप्टरमा चढेर भारततर्फ लाग्नुप¥यो । उनी भारतको नयाँ दिल्लीमा पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री भागेपछि सेनाप्रमुख जर्नेल वकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् ।
बंगलादेशमा घातप्रतिघातको राजनीति लामो समय चल्दै आएको छ । सत्ताबाहिर रहेका नेताहरू जेल पर्नु अनौठो होइन । तर, केही महिनाअघिसम्म शेख हसिनाले यतिछिटै यो दिन देख्नुपर्ला भन्ने कल्पना सायदै कसैले गरेको थियो ।
हसिनाले गत जनवरी ७ मा चौथोपटक लगातार चुनाव जितेर सत्तामा पकड बलियो बनाएकी थिइन् । कतिसम्म भने सो चुनावमा विपक्षीहरू नै थिएनन् । तर, ७ महिना नबित्दै उनी निर्वासित हुनुपरेको छ ।
यससँगै बंगलादेशमा सबैभन्दा लामो समय सत्ता चलाएकी प्रधानमन्त्रीको शासन अन्त्य भएको छ । जसले मुलुकलाई २० वर्ष भन्दा बढी आफ्नो पकडमा राखेकी थिइन् ।
बंगलादेशको आर्थिक उन्नति गरेको भाष्यका बीच राज्यका संयन्त्रहरूमा उनको कब्जा कायम भएको थियो । उनी तानाशाही बन्न थालेको आरोप लागेको थियो ।
कसरी सत्तामा आइन् हसिना ?
पूर्वी बंगलामा १९४७ मा जन्मिएकी हसिनाको रगतमै राजनीति थियो । उनका बुबा शेख मुजिबुर रहमानकै नेतृत्वमा १९७१ मा बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता पाएको थियो । स्वतन्त्रतापछि मुलुकका पहिलो राष्ट्रपति बनेका उनलाई राष्ट्रपिता मान्ने गरिन्छ ।
बंगलादेश स्वतन्त्र हुँदासम्म हसिना ढाका युनिभर्सिटीमा विद्यार्थी नेतृका रूपमा स्थापित भइसकेकी थिइन् ।
सन् १९७५ मा सैन्य कू हुँदा उनका पिता रहमान र परिवारका अधिकांश सदस्य मारिए । परिवारका दुई सदस्य, हसिना र उनकी बहिनी रेहाना मात्र बच्न सफल भए । किनकि उनीहरू त्यतिबेला विदेश यात्रामा थिए ।
निर्वासनमा भारतमा बसेकी उनी १९८१ मा देश फर्किइन् । त्यसपछि पिताकै पार्टी अवामी लिगको नेता बनिन् ।
जर्नेल हुसेन मुहमद एर्सादको सैन्य शासनमा उनले अन्य पार्टीहरूसँग हातेमालो गरेर लोकतन्त्रको माग गर्दै प्रदर्शनको नेतृत्व गरिन् । उनको लोकप्रियता ह्वात्तै बढ्यो ।
१९९६ मा पहिलो पटक उनले चुनाव जितिन् र सत्तामा आइन् । त्यसबेला भारतसँग जलस्रोत बाँडफाँट र आदिवासी विद्रोहीहरूसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको जस उनलाई गयो ।
तर, त्यहीबेला अनेक भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनको सरकारको आलोचना पनि भयो । त्यसमाथि भारतर्फ ढल्किएको आरोप पनि उनले खेपिन् ।
त्यसपछिको चुनाव अर्थात् २००१ मा उनी प्रतिस्पर्धी बेगम खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सँग पराजित भइन् । यी दुई परिवारका दुई महिलालाले एकएकवटा राजनीतिक वंशको नेतृत्व गर्छन् । जसले मुलुकमा तीन दशकदेखि बर्चस्व कायम गरेको छ । उनीहरूलाई ‘झगडिया बेगमहरू’ भनेर समेत चिन्ने गरिन्छ ।
उनीहरूको झगडाले तिक्त रूप लिँदा बसमा प्रहार, बेपत्ता, गैरन्यायिक हत्याजस्ता घटना नियमित बन्न पुगेको विश्लेषकहरू बताउँछन् ।
हसिना पुनः २००९ मा सत्तामा आइन् । सो चुनाव कामचलाउ सरकारले गराएको थियो । विपक्षमा हुन्जेल उनले अनेकौँ यातना सहिन् । अनेकपटक गिरफ्तार भइन् । पटकपटक हत्याप्रयास भयो । २००४ को आक्रमणपछि त उनको सुन्ने क्षमता नै कम भयो ।
त्यस्तै उनलाई निर्वासनमा पठाउने प्रयास र भ्रष्टाचार आरोपमा थुन्ने प्रयासको सामना पनि उनले सफलतापूर्वक गरिन् ।
हसिनाको उपलब्धि
हसिनाको नेतृत्वमा बंगलादेशको विरोधाभाषयुक्त चित्र देखिन्छ । कुनै समय विश्वकै गरिबमध्येको मुलुकले प्रशंसनीय रूपले आर्थिक सफलता प्राप्त ग¥यो । जसको सुरुवात उनले २००९ मा सत्ता सम्हालेपछि नै भयो ।
अहिले बंगलादेश यो क्षेत्रकै तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा पर्छ । वृद्धिदरमा त उसले छिमेकी भारतलाई समेत उछिन्यो ।
गत एक दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणा बढ्यो । विश्व ब्यांकका अनुसार गत २० वर्षमा अढाई करोडभन्दा बढी मानिस गरिबीबाट मुक्त भएका छन् ।
यो मुलुकको वृद्धिको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ । उसको समग्र निर्यातको ठूलो हिस्सा कपडा नै हो । जुन युरोप, उत्तर अमेरिका र एसियाभर पुग्छ ।
आफ्नै मुलुकको स्रोतसाधनका भरमा हसिनाले ठुल्ठूला पूर्वाधार परियोजना बनाएकी छन्। जसमा झण्डै ३ अर्ब डलरको पद्मा पुल समेत पर्छ ।
पछिल्लो विवाद
सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन। त्यो पनि निकै विवादास्पद चुनावलगत्तै ।
राजीनामाको माग चर्किरहँदा उनले अटेर गरिरहिन् । आन्दोलनकारीलाई उनले ‘आतंकवादी’ भनिन् र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरिन् ।
आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको आन्दोलन सरकारविगरोधी बन्न पुग्यो ।
महामारीपछि बंगलादेश महँगीसँग जुधिरहेको थियो । विदेशी मुद्रा सञ्चिति खुम्चेको थियो । विदेशी ऋण २०१६ पछि दोब्बर भएको थियो ।
आलोचकहरूले उनको सरकारले कुप्रबन्ध गरेको आरोप लगाएका थिए । यसअघिको आर्थिक उन्नतिले पनि हसिनाका आसेपासे मात्र पोसिएको उनीहरूको भनाइ थियो ।
त्यस्तै, लोकतन्त्र र मानव अधिकारको मूल्यमा सो समृद्धि आएको उनीहरूको ठहर थियो । हुन पनि हसिना विपक्षी, आलोचक र सञ्चारमाध्यमप्रति असहिष्णु बन्दै गएकी थिइन् ।
पछिल्ला महिनाहरूमा बीएनपीका धेरै ठूला नेता जेलमा थिए। हजारौँ राजनीतिक बन्दी छन् । भूराजनीतिक रूपमा हसिना सदा भारतको निकट रहिन् ।