
जनकपुरधाम:बैंक तथा वित्तीय संस्थाहरूको नाफामा बढोत्तरी आएजस्तो देखिए पनि खराब कर्जामा भने सुधार आउन नसकेको पाइएको छ ।
एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.५३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा ३ प्रतिशतमा सीमित रहेको थियो ।
वाणिज्य बैंकहरूमा ७ वटा बैंकले आफ्नो खराब कर्जा घटाएका छन् भने १३ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले नेपालमा न्यूनतम् कर्जा नोक्सानीको १ प्रतिशतलाई असल कर्जाको रूपमा राखिने व्यवस्था गरेको छ ।
त्यस्तै, ५ प्रतिशतसम्मको न्यूनतम् कर्जा नोक्सानीलाई सूक्ष्म निगरानी, २५ प्रतिशतसम्म कमसल, ५० प्रतिशतसम्मको शङ्कास्पद र १० प्रतिशत न्यूनतम् कर्जा नोक्सानीलाई खराब कर्जाको रूपमा छुट्ट्याइएको छ ।
सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्था लागू गर्दै आएका छन् ।
एक वर्षको अवधिमा कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक र एभरेस्ट बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटाएका छन् ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकको खराब कर्जामा सुधार आएको छैन ।
एक वर्षको अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको छ । आर्थिक वर्ष २०८०-८१ मा यस बैंकको खराब कर्जा ०.७१ प्रतिशत छ, जुन अघिल्लो आर्थिक वर्षमा ०.७९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असार मसान्तसम्म कुमारी बैंकले ०.०१ प्रतिशतले खराब कर्जा घटाएको छ । यस अवधिसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ ।
बैंकहरूमा ५ प्रतिशतसम्मको खराब कर्जालाई सामान्य मान्ने गरिन्छ । ५ प्रतिशतभन्दा माथि खराब कर्जा जानुले भने बैंकको लगानी जोखिममा रहको संकेत गर्दछ ।
हिमालयन बैंकले एक वर्षमा ०.०२ प्रतिशतले खराब कर्जा घटाएको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.९१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षमा ४.९३ प्रतिशत रहेको थियो ।
त्यस्तै, प्रभु बैंकको खराब कर्जा ४.७८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७०-८० मा यस बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको थियो ।
एक वर्षमा बैंकले ०.२ प्रतिशतले खराब कर्जा घटाएको छ ।
प्राइम बैंकको खराब कर्जा ४.६७ प्रतिशत रहेको छ । यस वर्षमा प्राइम बैंकले ०.१८ प्रतिशतले खराब कर्जा घटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.६५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.७७ प्रतिशत रहेको थियो । एक वर्षमा यस बैंकले ०.१२ प्रतिशतले खराब कर्जाको भारलाई घटाएको छ ।
नेपाल एसबीआई बैंकको खराब कर्जा २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस बैंकको खराब कर्जा २.४३ प्रतिशत रहेको छ ।
एक वर्षमा नेपाल एसबीआई बैंकले खराब कर्जा ०.४३ प्रतिशतले घटाएको छ ।