जनकपुरधाम:संघ र प्रदेशमा नयाँ सरकार गठन भएसँगै सप्तरी मन्त्रीमय बनेको छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दुई सांसदले मन्त्री बन्ने सौभाग्य पाएका छन् भने सप्तरीबाटै मधेश प्रदेशले मुख्यमन्त्री पाएको छ । यहाँका प्रत्यक्ष र समानुपातिक गरी ५ सांसदले प्रदेश मन्त्रीको जिम्मेवारी पाएका छन् ।
एमाले र कांग्रेसको गठबन्धन बनेसँगै केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मौजुदा संघीय मन्त्रिपरिषद्मा सप्तरीबाट कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र अशोक राई नेतृत्वको जसपाबाट नवलकिशोर साह महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् । साह अघिल्लो सरकारमा वनमन्त्री थिए भने चौधरी यसअघि संघीय सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री बनिसकेका छन् ।
प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सतिषकुमार सिंह सप्तरीका जनप्रतिनिधि हुन् । सिंह नेतृत्वको सरकारमा अहिले सप्तरीबाट राजकुमार लेखी गृह तथा संचार, सकिल अली उद्योग तथा पर्यटन र रन्जुकुमारी खंग राज्यमन्त्री छन् ।
मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएपछि मधेश प्रदेश सरकार २० सदस्यीय पुगेको छ । पाँच जना राज्यमन्त्री थपिंदा दुई जना सप्तरीकै परेका छन् । जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री र कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजक उर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री बनेकी छिन् ।
यसअघिको सरकारमा पनि सप्तरीबाट मो. समिम, महेशप्रसाद यादव, गोविन्दबहादुर न्यौपाने मन्त्री थिए । प्रदेशमा पहिलो पटक सरकार निर्माण हुँदा सप्तरीबाट शैलेन्द्रप्रसाद साह भूमि, व्यवस्था, कृषि तथा सहकारी र अर्थ एवं नवलकिशोर साहले सामाजिक विकास मन्त्रीका रूपमा पाँच वर्ष काम गरेका थिए ।
पञ्चायतकालदेखि नै सप्तरीबाट मन्त्री हुनेको सूची लामै छ । जसमध्ये केही त पटक–पटक मन्त्री भएका थिए । चतुर्भुजप्रसाद सिंह, नागेश्वरप्रसाद सिंह, जगदीश झा, शत्रुधनप्रसाद सिंह यादव, गजेन्द्रनारायण सिंह, मृगेन्द्रकुमार सिंह यादव, कुवेर शर्मा, अनिश अन्सारी, जयप्रकाश गुप्ता, रेणुकुमारी यादव, उपेन्द्र यादव, उमेशकुमार यादव, नन्दन दत्त र रामकुमार चौधरी मन्त्री भएका थिए । यीमध्ये कतिले त पटक–पटक मन्त्री बन्ने सौभाग्य पनि पाए ।