जनकपुरधाम:नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।
हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए । ‘दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको छ । जहाज सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त छ’, उनले भने, ‘घटनास्थलबाट ५ जनाको शव खोचजस्तो स्थानमा भेटेर माथि ल्याइएको छ ।’
उनले प्रतिकुल मौसमकै कारण जहाज दुर्घटना भएको हुन सक्ने आँकल गरे । ‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन । कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएको हुनसक्छ’, उनले भने ।
दुर्घटनालगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।
एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १:५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।
हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ ।’ हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको छ ।
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन
बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरु विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । समितिलाई प्रतिवेदन तयार गर्न ३० दिनको कार्यादेश दिइएको छ ।
बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
नेपाली आकाशमा ४५ वर्षमा ४० हेलिकोप्टर दुर्घटना, ९७ जनाले गुमाए ज्यान
नेपालमा २०३६ सालयता ४० वटा हेलिकोप्टर दुर्घटना भएका छन् । बुधबारको समेत गरी ४५ वर्षमा नेपाली आकाशमा ४० वटा हेलिकप्टर दुर्घटना भएका हुन् ।
बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको छ । चारजना चिनियाँ नागरिक बोकेर उडेको एयर डाइनेस्टी हेलिकोप्टर उडान गरेको तीन मिनेटमै काठमाडौं टावरसँग सम्पर्कविच्छेद भएको थियो ।
उक्त हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा परेको हो । एयर डाइनेस्टीको कलसाइन ’नाइन एन एजेडी’ रहेको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिकसहित नेपाली पाइलट थिए ।
हालसम्म भएका ४० दुर्घटनामामध्ये २२ वटा दुर्घटनामा ९७ जनाले ज्यान गुमाएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति भएन ।