जनकपुरधाम:आयातकर्ताले नलगेर सिर्सिया सुक्खा बन्दरगाहमा कुहिएको खाद्यान्न व्यवस्थापनमा समस्या आएको छ । बन्दरगाहस्थित भन्सार कार्यालयले ३ सय ४ वटा कन्टेनर लिलाम प्रक्रियामा राखेकामा १ सय कन्टेनरमा कुहिएका खाद्यान्न रहेको र ती लिलाम नभएपछि तिनको व्यवस्थापनमा समस्या देखिएको हो । कुहिएका वस्तुमा दाल, छोकडालगायत बढी छन् ।

तीन महिनायता कार्यालयले पटक–पटक सूचना प्रकाशित गरी ती बस्तु लिलामी प्रक्रियामा लगेको हो । २ सय बढी कन्टेनरमा रहेका अफसेट मेसिन, अटो पार्ट्स, कम्प्युटर पार्ट्स आदिको लिलामीबाट १८ करोड ४६ लाख रुपैयाँ बराबरको राजस्व दाखिला भइसकेको छ ।

कुहिएर लिलाम नभई बाँकी रहेका बस्तुलाई व्यवस्थापन गर्न समस्या भएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल बताउँछन् । ‘एक सय वटा कन्टेनरमा करिब ३० हजार टन यसरी कुहिएर दुर्गन्धित भइसकेका बस्तु छन्,’ उनले भने, ‘बन्दरगाह परिसरमा त्यति धेरै बस्तु व्यवस्थापन गर्ने स्थानकै अभाव छ, अन्यन्त्र लगेर फाल्न समेत सकिएको छैन ।’

वीरगन्ज महानगरपालिकाको ल्यान्डफिल साइटमा ती कुहिएका बस्तु व्यवस्थापन गर्ने सोचअनुरूप महानगरका मेयर राजेशमान सिंह र मातृका भट्टराईसँग पनि आफूले प्रारम्भिक छलफल गरेको उनले बताए ।

‘महानगरको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न सके ती बस्तुबाट कम्पोस्ट मलसमेत बनाउन सकिने सम्भावना छ,’ उनले भने, ‘ठूलो परिमाणमा कुहिएको बस्तु व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि महानगरपालिकाले शुल्कसमेत लिने भएकाले त्यसका लागि पनि उपल्लो निकायसँग आवश्यक छलफल गरिरहेको छु ।’

गर्मीमा ती कुहिएका वस्तु ढुवानी गरेर लग्दा सर्वसाधारणलाई दुर्गन्धले समस्या हुन सक्ने भएकाले मंसिर:पुस महिनामा व्यवस्थापनको काम गर्न सके दुर्गन्ध पनि कम आउने उनले बताए ।

कतिपय आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेका मालबस्तु कोरोनाकालमा बन्दरगाहमा थन्किएपछि उनीहरूमध्ये अधिकांशले जाँचपास गराई लगेनन् । तिनमा दाल, अन्न, सुपारी, पोस्तादाना आदि कुहिने प्रकृतिका बस्तु पनि थिए । आयातकर्ता नै करिब ५ वर्ष कन्टेनर लग्न नआएपछि अन्ततः बन्दरगाह भन्सार कार्यालयले ती कन्टेनरलाई लिलामी प्रक्रियामा लगेको हो । लिलाम नभएपछि अहिले ती कन्टेनर बन्दरगाहको दक्षिणपूर्वी कुनामा थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको