जनकपुरधाम:मधेश प्रदेशसहित अन्य पाँच प्रदेशमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्लोज क्याम्प जारी छ । मधेशसहित सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी रहेको बताइएको छ ।

पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरिएको ‘क्लोज क्याम्प’को दोस्रो दिनमा पनि छलफल जारी रह्यो । रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो ।

मधेशमा ८०, सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६० र कर्णालीमा ३० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन् । उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन् ।

रास्वपाले सहरीकरणका लागि मधेशमा मनिष झा र कामिनी चौधरी, सुदूरपश्चिममा दीपक बोहरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु तथा कर्णालीमा हरि ढकाल र विनिता कठायतलाई पठाएको छ ।

प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ शुक्रबार सकियो भने कोशीमा शनिबारबाट हुँदै छ । कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन् ।

कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, सङ्गठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ । रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ ।

‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ’ सहप्रवक्ता प्रतिभा रावलले भनिन्– ‘राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको