जनकपुरधाम:नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र छिमेकी राष्ट्र भारतबिच सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका हुन् ।
भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा निःशुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।
भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नास्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले यसअघि रातोपाटीलाई जानकारी दिएका थिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए ।
त्यो समयमा कमान्ड दिने, भू–उपग्रहले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । मुनाल काठमाडौँ विश्वविद्यालय भित्र रहेको एक माध्यमिक विद्यालयका विद्यार्थीको सक्रियतामा निर्माण गरिएको हो ।
स्कुलका विद्यार्थीहरू आवासीय रूपमा त्यहीँ बसेर काम गरेका हुन् । स्कुलको कक्षा सक्ने र ल्याबमा गएर काम गर्दै उनीहरूले भू–उपग्रह निर्माण गरेका हुन् । भूउपग्रह निर्माणमा विद्यार्थीको क्षमता र प्राविधिक जनशक्तिको कार्यदक्षता बढाउने उद्देश्यले विद्यार्थीलाई पनि सहभागी गराएको डा.ढकालले जानकारी दिए ।