
जनकपुरधाम:मधेसको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र आफ्नो सरुवा भई सकेकाले यहाँबाट जान तयार रहेको बताएका छन् । प्रदेश सरकारले पठाएको प्रयोगशालाका निर्देशकलाई हाजिरी गराउने विषयमा विवाद चलिरहेको समयमा आफू यहाँबाट जान तयार रहेको मिश्रले बताए । डाक्टर मिश्रले आफूलाई प्रदेश सरकारले सरुवा गरेको सन्दर्भमा यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिए । उनले आफ्नो काज फिर्ता भइसकेको र नियमअनुसार आफू सरुवा हुने स्पष्ट गरे । हालसम्म भएका कामको संरक्षण हुने आफूले विश्वास लिएको विश्वास व्यक्त गरे । साउन २० गते मधेश सरकारले डाक्टर मिश्रलाई २४ घण्टाभित्र रमाना लिएर जानू भनेर पत्र पठाएको थियो । यो पत्रको प्रतिउत्तरमा डाक्टर मिश्रले सरुवाको जानकारी पाएको मितिले २१ दिनसम्म पदमा बस्न पाउने जिकिर गर्दै आएका छन् । त्यस्तै, मधेश सरकारले साउन २५ गते कुमार मृत्युञ्जय प्रसादलाई प्रयोगशालाको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिसकेको छ । आइतबार निमित्त कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा अवरोध गरिएपछि केहीबेर होहल्ला पनि भएको थियो ।
यता मिश्रले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो चार वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रयोगशालाका निर्देशक डाक्टर श्रवणकुमार मिश्रले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रियस्तरको सेवा दिइरहेको दाबी गरे । उनले पछिल्लो चार वर्षमा यो प्रयोगशालाको सेवा विस्तार उत्साहजनक रहेको पनि दाबी गरे । आठवटै जिल्लाका साथै एक सय ३६ वटै पालिकामा प्रयोगशाला स्थापना गर्न सफल भएको र विश्वस्तरको मधेश रक्तसञ्चार केन्द्र जनकपुरधामको मुजेलियामा स्थापना गर्न सफल भएको उनको भनाई थियो । उनले प्रदेशका विभिन्न स्थानमा स्थापना भएका प्रयोगशालाहरूले एकदमै कम शुल्कमा सेवा दिइरहेको बताए ।