जनकपुरधाम:प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक केही दिन यता काठमाडौँमा चलिरहेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार, संगठन र नेतृत्वबारे घनीभूत बहस चलिरहेको छ ।
दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् र, नेतृत्वमाथि साझा प्रश्न पनि गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो नेतृत्वबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवस्था पनि उस्तै छ । दुवै दलका नेताहरूले आ–आफ्नो नेतृत्वमाथि प्रश्न गर्दै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिइरहेका छन् ।
नेताहरूले कांग्रेसमा देउवा र माओवादीमा प्रचण्डको विकल्प खोजे पनि दुवै नेताको विकल्प ‘को हो’ भन्नेबारे सम्बन्धित पार्टीभित्र अलमल देखिन्छ । तर दुवै पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न भने उठेको छ ।
नेतृत्व हस्तान्तरणसँग जोडेर उठाइएका प्रश्न कांग्रेस र माओवादीमा समान छन् । यद्यपि अरु विषय र पृष्ठभूमि भने दुवै पार्टीमा फरकफरक छन् ।
देउवामाथि शेखरको प्रश्न
नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्ने छैनन् तर आगामी २०८२ सालमा गर्नुपर्ने १५औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर बैठकमा आशङ्का मिश्रित प्रश्न गरेका छन् ।
अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा पराजित शेखरले आइतबारको केन्द्रीय समिति बैठकमा समयमै सभापतिले महाधिवेशन गर्न आलटाल गर्नुहुन्छ कि भन्ने आशङ्का बढेको भन्दै त्यसको छनक अहिले नै देखिन थालेको बताए । जवाफमा देउवाले आशङ्का हटाउन र सबै मिलेर समयमै महाधिवेशन गर्नतिर लाग्न कोइरालालाई सुझाव दिए ।
‘अहिलेको कार्यसमितिको समय सकिएलगत्तै महाधिवेशन समयमै हुन्छ । किन सार्ने ? सार्ने कुरै छैन । तपाईं हामी सबै एक भएर त्यसमा लागौँ न !’ देउवाको भनाइ छ ।
कोइरालाले नियमित समयअनुसार महाधिवेशन हुँदा ०८२ को मंसिरमा १५औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अबिलम्ब समितिहरू बनाउन देउवालाई आग्रह गरे ।
‘ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु’, कोइरालाको भनाइ छ ।
प्रचण्डमाथि शर्मा र पुनको दबाब
माओवादी केन्द्रको बैठकमा पनि उपमहासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन दुवैले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन् । शर्मा र पुनको भाषा शैली फरकफरक भए पनि आशय प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने नै बुझिन्छ ।
माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेका छन् । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा नेता शर्माले प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न र उनको भूमिकालाई सुनिश्चित गर्न अबको बाँकी समय वैचारिक र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् ।
‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले आफ्नो दस्तावेजमा प्रचण्डप्रति प्रश्न उठाउँदै लेखेका छन्, ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो ।’
शर्माले मात्र होइन, पुनले पनि प्रचण्डको विकल्प खोज्नेबेला भइसकेको बैठकमा बताएका छन् । ‘अबको नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ’, पुनले बैठकमा भनेका छन्, ‘अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन । अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला आएको छैन । तर, कार्यकारी तोक्ने गरी विधानमै उल्लेख गर्नुपर्छ ।’