जनकपुरधाम:अगामी मंसिर महिनाको अन्तिम साता मधेशका ४ स्थानीय तहका वडाध्यक्षसहित देशभरका ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी निर्वाचन आयोगले गरेको छ ।
विभिन्न कारणले रिक्त हुन पुगेका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरुको पदपुर्ती निर्वाचन प्रक्रियाद्वारा गरिने तयारी आयोगको छ । यसका लागि अगामी मंसिर अन्तिम साता उपनिर्वाचन गराउन आयोगले सरकार समक्ष प्रस्ताव गरेको हो ।
मधेशको सप्तरी र रौतहट जिल्लामा चार वटा वडा अध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ । आयोगको अनुसार सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको पद खाली छ । त्यस्तै, रौतहट जिल्लास्थित इशनाथ नगरपालिकाको वडा नम्बर ७, राजपुर नगरपालिकाको वडा नम्बर ६ र गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा वडा अध्यक्षको पद रिक्त छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनबाट रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको आयोगका प्रवक्ता सहसचिव रघुराम बिष्टले जानकारी दिएका छन् ।
उनका अनुसार गाउँपालिका तथा नगरपालिकाका यस्ता पदमा रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई मध्यनजर गर्दै उपनिर्वाचनमार्फत पदपूर्ति गर्न आयोगले आन्तरिक तयारी गरिरहेको छ ।
आयोगले निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम निर्वाचनको मिति तोकिएपछि त्यसै मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
त्यसैले सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक र निर्वाचनको मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम दर्ता गरी मताधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोगले सबैलाई आग्रह गरेको छ ।