जनकपुरधाम:बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल र वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठबीच शिक्षक सरुवाको विषयमा विवाद भएपछि विद्यालयमै कुटाकुट भएको छ ।

नगर प्रमुख पौडेलले वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे ।

यस्तै, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीको सरुवा गरी वडा २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।

नगर प्रमुख पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठको चित्त बुझेन । उनी विरोध गरे । उनले आफूसँग सल्लाह समेत नगरी शिक्षक सरुवा गरेको भन्दै निर्णय नमान्ने बताएका थिए ।

वडाध्यक्ष श्रेष्ठ शिक्षक सरुवाको विरोध गरिरहेकै बेला मंगलबार सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा शिक्षक सिता अधिकारी पुगेपछि विवाद बढेको बताइएको छ । वडाध्यक्षले हाजिर हुन नदिने भनेपछि नगर प्रमुख पौडेल विद्यालय पुगेका थिए ।

नगर प्रमुख पौडेल जर्वजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग हात हालाहाल नै भयो । झडपको अवस्था सृजना भएपछि ईलाका प्रहरी कार्यालयबाट डिएसपी चिरन्जीवि पौडेल त्यहाँ पुगे । सुरक्षाकर्मी कडा रुपमा प्रस्तुत भएपछि अप्रिय घटना घटेन सकेन ।

नगर प्रमुख र वडाध्यक्ष दुबैले आफ्ना समर्थक लिएर विद्यालयमा पुगेका थिए । स्थानीयका अनुसार प्रहरी समयमा नपुगेको भए विद्यालय रणमैदान बन्ने थियो ।

विद्यालयमा गएरै लफडा गरेको विषयमा नगर प्रमुख पौडेलसँग सम्पर्क गर्दा हुन सकेन । वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको विद्यालयमा सरुवा भएको आएको ६ महिना नवित्दै शिक्षक मेघराज बराललाई वडा ७ को विद्यालयमा पठाएपछि विवाद भएको बताए ।

‘शिक्षा ऐन अनुसार सरुवा भएर आएको शिक्षकलाई ६ महिना नपुग्दै सरुवा गर्न मिल्छ ?’, उनले भने, ‘मिल्दैन नी । हाम्रो वडाको विद्यालयमा मेघराज सरले राम्रो गर्नुभएको छ । उहाँले विद्यालयमा आएदेखि पठन पाठनमा धेरै सुधार भएको छ । उहाँको कुनै कम्प्लेन छैन । तर पनि सरुवा गरिएको छ । यो निर्णय मान्दैनौं ।’

शिक्षक मेघराज सरको सरुवा रोक्नकै लागि वडा ७ बाट सरुवा भएर आएकी सिता अधिकारीलाई विद्यालयमा हाजिर हुन नदिएको वडाध्यक्ष श्रेष्ठले बताए । शिक्षक मेघराज सरको रमाना नदिने र सिता अधिकारीलाई हाजिर हुन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको