आयोजना प्रमुख भन्छन् : पुल मरम्मतको काम रोकिएको छैन

जनकपुरधाम:कमला नदीमा पुल निर्माणको माग गर्दै आन्दोलन घोषणा गरेको संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई गत साउन २७ गते ज्ञापनपत्र बुझायो । संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालय अगाडि भदौ ५ देखि आमरण अनशन गर्नेसम्मको चेतावनी दिएको छ । यता मुख्यमन्त्री सिंहले ज्ञापन पत्र बुझ्दै यो प्रदेश सरकार मातहतको विषय नरहेपनि संघ सरकारसंग समन्वय गरेर कमला पुल मरम्मत प्रकृया अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे । तर यो पुल मरम्मतको काम कहिलेबाट शुरु हुने अझै निक्र्यौल लागेको छैन ।

कमला नदिले धनुषा र सिरहा जिल्लालाई जोड्छ । सोही नदिमा निर्माण सम्पन्न नहुँदै भासिएको पुल ३ वर्षपछि पनि मरम्मत गर्न सकिएको छैन । ३ वर्ष अगाडी अविरल वर्षाका कारण कमला नदिको स्पाम भासिएपछि पुल भत्किएको थियो । पुल भत्किएको ३ वर्ष पछि पनि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने सो पुलको मरम्मत सम्भार गर्ने तर्फ कुनै निकायको ध्यान जान नसकेपछि सिरहाका स्थानीय आन्दोलित भएका छन् ।

हुलाकी राजमार्ग हुँदै दुवै जिल्लाको एक मात्र बाटो रहेको सो सडकमा पर्ने पुल भासिएपछि स्थानीय जोखिम लिएर आवतजावत गर्न बाध्य छन् ।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण उद्घाटन हुन एक साता मात्रै बाँकी छँदा ३ वर्ष अगाडी २४ करोड ४२ लाख रुपैयाँको लागत निर्माण गरिएको सो पुलको यस्तो हविगत भएको थियो ।

हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले पुल मरम्मतको काम शुरु नै हुन नसकेको भन्नु गलत होला बताउँछन् । उनले पुल मरम्मतको काम चलिरहेको छ तर जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको स्वीकार गरे । काम सुस्त गतिमा हुनुको मूल कारण ठेक्केदारहरुको भुक्तानी हुन नसक्नु, इन्स्योरेन्स कम्पनीले रकम नदिनु अर्थात ठेक्केदार कम्पनीको आर्थिक अभावका कारण काम सुस्त गतिमा भईरहेको उनले सुनाए । कार्यालय प्रमुख महतोका अनुसार निर्माण कम्पनीले इन्स्योरेन्सबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन नसकेकाले क्षतिपूर्तिको माग गर्दै उच्च अदालतमा मुद्दा पुुगेको जानकारी कार्यालयलाई गराई सकेको छ । अदालती प्रकृया तथा क्षतिपूर्ति पाउन नसकेका कारण पूल मरम्मतको काम सुस्त गतिमा चलिरहेको छ । उनका अनुसार सिरहा तर्फको पुलको दुई वटा पिलरको जग बनाउने काम सम्पन्न भई सकेको जानकारी दिए ।

२०६८ साल मंसिरमा शिलान्यास भएको ४ सय ७० मिटर लामो पुलको १२ वटा स्पाम मध्ये २०७८ साल असार २० गते आएको बाढीका कारण दुईटा पिलरसँगै स्ल्याब पनि भासिएको थियो । ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको सो पुल निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी विल्डर्स जेभी कन्स्ट्रक्सनले २४ करोड ९१ लाखमा २०६८ जेठ ३१ मा लिएको थियो । २०६८ साल मंसिरमा सो पुल निर्माणका लागि विधिवत रूपमा शिलान्यास गरिएको थियो ।

तीन वर्षमै सम्पन्न गर्ने भनी ठेक्का लिएपनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै अन्तत: पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्काबाट पछाडी हटेको थियो भने २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनले सो कामको जिम्मा लिएको थियो । लुम्बिनी विल्डर्सले कार्य सम्पन्न भएको देखाएर २०७८ असारमा उद्घाटन गर्ने तयारी गरेको थियो । तर उदघाटन हुनुभन्दा एक साता पहिले नै सिरहा नगरपालिका–६ बसपिट्टा घाटनजिकै पुलको एउटा स्पाम (पाया) भासिएको थियो । सो स्पाम भासिएसँगै दुईवटा स्ल्याब ७८.२० मिटर तल झरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको