
जनकपुरधाम:जनमत पार्टी अध्यक्ष डा.सिके राउतले गणतन्त्र सखाप पार्ने खेल भइरहेको बताएका छन् । खासगरी दुइ ठूला दलहरुबाट गणतन्त्र सखाप पर्ने षड्यन्त्र भइरहेको उनले बताएका हुन ।
जनमत पार्टी पर्साले बुधबार बीरगन्जमा राखेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । उनका अनुसार नेपालमा दुई दलीय व्यवस्था जबरजस्ती ल्याउने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्र भनेको जनतालाई नोक्सानी पुग्ने षड्यन्त्र रहेको उनको भनाइ छ ।
त्यसकारण यो षडयन्त्रको विरुद्ध सडक आन्दोलनका लागि तयार रहन अध्यक्ष राउतले निर्देशन दिए । नेपाली कांग्रेस र एमालेले यो प्रपञ्च रचिरहेको जनाउँदै उनले यससको गन्ध बुधबार चलेको सदनको बैठकबाट प्रष्ट भएको सुनाए ।
यी दुइ दलले गरिरहेको यो षड्यन्त्रको विरोधमा पुन: आन्दोलनमा उत्रिन तयार रहनुपर्ने जरुरी रहेको उनको प्रष्टोक्ति छ ।
यो षड्यन्त्रको आशय भनेको देशबाट साना दलरुलाई समाप्त गर्नु रहेको उनको तर्क छ । उनी भन्छन्, ‘त्यहीकारणले दुइ ठूला दल एकमत देखिएका हुन, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा काही पनि अभ्यासमा छैन । ठूला दलहरुमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ।’
सरकार र सदनबाट विश्वास नरहेको जनाउँदै अबको अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको उनको भनाइ छ । संघीयतालाई ‘पर्फेक्ट’ बनाउँन संघीय सरकारले अझ प्रदेशहरुलाई अधिकार दिनबाट बञ्चित गरिरहेको उनले आरोप लगाए ।