जनकपुरधाम:स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचनको तयारी निर्वाचन आयोगले थालेको छ । केही दिनअघि सरकारसँग छलफल गरी आयोगले तयारी थालेको हो । रिक्त भएका पालिका प्रमुख ३, उपप्रमुख ३ र वडा अध्यक्ष २८ पदमा उपनिर्वाचन हुन लागेको हो ।
२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले देशभरका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद रिक्त हुन गएकाले उपनिर्वाचन गराउन लागिएको आयोगले भनेको छ ।
यसको तयारी स्वरुप निर्वाचन आयोगले मंगलबार नै सूचना निकालेर योग्यता पुगेका नेपाली नागरिकलाई प्रदेश तथा जिल्ला निर्वााचन कार्यालयमा अनलाइन फारम भरी मतदाता नामावली दर्ता गराउन आह्वान गरेको छ । योसँगै बुधबारदेखि मतदाता नामावली संकलन कार्य सुरु भएको छ । निर्वाचन मिति तोकिएपछि मतदाता नामावली दर्ता प्रक्रिया रोकिने भएकाले समयमै आफ्नो नाम दर्ता गर्न आयोगले भनेको छ ।