जनकपुरधाम:अर्काको काम देखाएर भ्रष्टाचार गरेको अर्कौ नमूना सप्तरीको बोदेबरसाइन नगरपालिकामा देखिएको छ । एउटा सरकारी निकायले पहिले नै गरिसकेको कामलाई देखाएर लाखौं रुपैयाँ अनियमितता भएको पाइएको हो ।
बोदेबरसाइन नगरपालिका वडा नम्बर ९ देउरीमा आर्थिक वर्ष २०७७-७८ मा मधेश प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार कार्यालय सिरहा, सम्पर्क कार्यालय राजविराजले २५ लाख रुपैयाँको लागतमा देउरीदेखि लबटोलियासम्मको बाटो ग्राभेल गरेको थियो । सोही आर्थिक वर्षमा त्यही सडकलाई देखाएर नगरपालिकाले पनि उपभोक्ता समितिमार्फत ४४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।
नगरपालिकाले सडक बोर्डबाट विनियोजन भएको ४४ लाख रुपैयाँ देउरी जनकल्याण प्रावि लबटोलिया, स्वर्ण नदी हुँदै सिमराहा डिहबार थानसम्म सडक स्तरोन्नतिका नाममा कामै नगरी अनियमितता गरेको पाइएको हो ।
नगरपालिकाले फर्जी उपभोक्ता समिति खडा गरेर कामै नगरी रकम हिनामिना गरेको उपभोक्ता समितिका अध्यक्षसहित सदस्यहरूले पोल खोलेका छन् । सडक निर्माण उपभोक्ता समितिले नगरपालिकासँग २०७८ वैशाख १४ गते गरेको सम्झौताअनुसार २०७८ जेठ ३१ सम्म कार्य सम्पन्न गर्नुपर्ने थियो । तर सोही आर्थिक वर्षको जेष्ठ मसान्तमा सक्नुपर्ने कार्यको भुक्तानी ४१ लाख ८४ हजार २ सय ३५ रुपैयाँ आर्थिक वर्ष सकिएपछि २०७८ पुसमा फर्जी तरिकाले गरिएको थियो ।
सडक बोर्डबाट २८ लाख र नगरपालिकाको पूँजीगततर्फ १५ लाख ९३ हजार गरी ४३ लाख ९३ हजार रुपैयाँ खर्च नगरपालिकाले देखाएको छ । अहिले आएर उक्त सडक स्तरोन्नति कार्यका लागि गठित उपभोक्ता समितिका अध्यक्ष राकेश साहले नै आफ्नो नाममा फर्जी उपभोक्ता समिति गठन गरी अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
उनीसँगै उपभोक्ता समितिका सदस्य योगेन्द्रप्रसाद साह तेली र सदस्य ललितादेवी साहले समेत उजुरीमा हस्ताक्षर गरेका छन् ।
‘म अध्यक्ष रहको उपभोक्ता समिति खडा गरी फर्जी काम र फर्जी कागजात बनाई बैंक खातासमेत खोलेर रकम हिनामिना भएको मैले सूचना पाएको छु । रकम हिनामिना भएको विषयमा २०८१ जेठ ३० गते स्थानीय राजनीतिक दलका अगुवाहरूले संघर्ष समिति बनाई संघर्ष शुरू गरेपछि मात्र मैले जानकारी पाएको हुँ,’ साहले दिएको निवेदनमा उल्लेख छ ।
आफ्नो नाममा फर्जी उपभोक्ता समिति खडा गरी ४१ लाख ८४ हजार २ सय ३५ रुपैयाँ हिनामिना भएको जानकारीमा आएको भन्दै उनले निवेदन दिएका हुन् ।
वडाध्यक्ष तपसीप्रसाद यादव, योजना शाखाका कर्मचारी र प्राविधिक समेतको मिलेमतोमा उक्त अनियमितता भएको उनको दाबी छ । उक्त उजुरी दर्ता भएपछि बोदे बर्साइन नगरपालिका र भौतिक पूर्वाधार कार्यालय सिरहा मातहतको सम्पर्क कार्यालय राजविराजलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्राचार गरेको भएपनि जवाफ आइसकेको छैन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको उजुरी शाखाका नायब सुब्बा प्रकाश देवकोटाका अनुसार साउन २३ गते ती दुवै कार्यालयलाई आवश्यक कागजात पठाउन पत्राचार गरिएको छ ।
‘योजनासँग सम्बन्धित सबै कागजात, भुक्तानीसम्बन्धी कागजात, लेखा परीक्षण प्रतिवेदनसहित विभिन्न कागजात दुवै कार्यालयसँग माग गरेका छौं,’ देवकोटाले भने, ’तर, अहिलेसम्म कुनै पनि कार्यालयबाट कागजात प्राप्त भएको छैन ।’
उक्त कार्यमा अनियमितता भएको भन्दै महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ । ‘सडक स्तोरोन्नति कार्यबापत ४४ लाख रुपैयाँको स्वीकृत लागत इस्टिमेटबमोजिम गत आर्थिक वर्ष ०७८ पुस १४ मा सम्झौता भएकोमा ०७८ जेठ ३१ सम्म म्याद रहेको देखिन्छ । सो कार्य कहिले सम्पन्न भयो भनी मिति उल्लेख छैन । गत आर्थिक वर्षको जेठ मसान्तमा सक्नुपर्ने कार्य यसवर्ष पौषमा आएर ४९ लाख ८४ हजार २३५ रुपैयाँको मूल्यांकन भई २८ लाख सडक बोर्डबाट र १५ लाख ९३ हजार नगरपालिकाको पुँजीगत तर्फबाट खर्च गरिएको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
अनियमिततामा संलग्न व्यक्तिहरू वडा अध्यक्ष तपसी यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, नगर प्रमुख आतेशकुमार सिंह, इन्जिनीयर विनोद साह, सब–इन्जिनियर सिद्धार्थ सिंह, करार सेवाका सब–इन्जिनियर अजयकुमार चौधरी, योजना शाखा प्रमुख र अन्य सम्बन्धित व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याई आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।