जनकपुरधाम:बालबालिकाको नि:शुल्क उपचारका नाममा कोशी प्रदेशका नोबेल मेडिकल कलेजसहितका ६ वटा अस्पतालहरूले फर्जी बिल पेश गरेर करोडौ रुपैया असुल्ने प्रयास गरेको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजसहित आधादर्जन अस्पतालले दस मुनिका बालबालिकाको नि:शुल्क उपचार फर्जी बिल बनाएर भुक्तानीका लागि प्रदेश सरकारसमक्ष दाबी पेश गरेका हुन् ।

नोबेलका अलावा विराट मेडिकल कलेज, झापाको दमकमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड अस्पताल, मेची प्रादेशिक अस्पताल भद्रपुर, उदयपुर र संखुवासभा अस्पतालले १० वर्षमुनिका बालबालिकाको उपचार गरेको भन्दा २ करोड १८ लाख ८१४ रुपैयाँ ५८ पैसा बढी दाबीसहित फर्जी बिल पेश गरेका हुन् ।

६ वटा अस्पतालले पेश गरेको बिल परीक्षण गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसा बढी भुक्तानीका लागि दाबी गरेको पाइएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका फार्मेसी अधिकृत भरत शाहले जानकारी दिए ।

चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल उनीहरूले पेश गरेका हुन् । ६ वटा अस्पतालले ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसा भुक्तानीका लागि दाबी पेश गरेका थिए । बढी बिल आएको आशंकामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्डबाट कर्मचारी बोलाएर छानबिन गरेको थियो ।

मन्त्रालयले स्वास्थ्य बिमा बोर्डबाट कर्मचारी मगाएर एक हप्तासम्म बिल अध्ययन गरेको थियो । अध्ययन गर्दा ८ हजार २ सय ९७ जना बिरामीको उपचार गर्दा स्वास्थ्य बिमाको दररेट अनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइएको शाहले बताए ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका डा. सुनिल शर्माको अस्पताल बढी फर्जी बिल बनाउनेमा अगाडि देखिएको छ । विराटनगरको नोबेल मेडिकल कलेजले उपचार गरेको भन्दा १ करोड २८ लाख ८२ हजार ९९ रुपैयाँ बढीको बिल पेश गरेको छ ।

नोबेलले २ हजार ३ सय ८८ बालबालिकाको उपचारको गरेको भन्दै ३ करोड ७९ लाख २७ हजार ४४३ रुपैयाँ दाबी पेश गरेको थियो । तर, उसले २ करोड ५१ लाख १९ हजार १४४ रुपैयाँको मात्रै उपचार गरेको पाइएको छ ।

उपचारको भुक्तानी दाबी गर्न आउँदा उपचार गराएको प्रमाण र बालबालिकाका अभिभावकको फोन नम्बर समेत ल्याउन मन्त्रालयले भनेको थियो । डा. सुनिल शर्माकी श्रीमती समेत रहेकी नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा बरालले आफू अफिसभन्दा बाहिर रहेकाले यसबारे जानकारी नभएको बताइन् । उनले भनिन्, ‘सोमबार अफिसमा आउनु होस्, सबै डिटेलमा हेरौंला ।’

स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले अस्पतालहरूले सम्झौताभन्दा फरक ढंगले फर्जी बिल ल्याएकाले सम्झौता अनुसारको रकम मात्रै भुक्तानी गरेको बताइन् । विराट टिचिङ अस्पतालले ५१ लाख ११ हजार ६७५ रुपैयाँ बढी बिल पेश गरेको थियो । २ हजार ४५ जना बालबालिकाको उपचार गरेको विराटले १ करोड ७६ लाख ६९ हजार ८ सय १ रुपैयाँको बिल पेश गरेको थियो । स्वास्थ्य कार्यालय मोरङले विराट अस्पताललाई १ करोड २५ लाख ५८ हजार १ सय २६ रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

दमकको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ ५८ पैसा बढी दाबी गर्दै बिल पेश गरेको छ । १ हजार १ सय १६ जना बालबालिकाको उपचार गरेको भन्दै चाइल्ड अस्पतालले ९३ लाख ६९ हजार २ रुपैयाँ २३ पैसा दाबी गरेकोमा ६४ लाख २८ हजार ६०६ रुपैयाँ ६५ पैसा मात्रै भुक्तानी पाएको छ ।

त्यसैगरी, मेची प्रादेशिक अस्पतालले पनि ३ लाख ६९ हजार ५१६ रुपैयाँ बढी भुक्तानीका लागि दाबी पेश गरेको छ । मेची प्रादेशिक अस्पतालले १ सय ४ जना बालबालिकाको उपचार गरेको भन्दै ८ लाख ६५ हजार ९२० रुपैयाँ दाबी गरेकोमा ४ लाख ९६ हजार ४०४ रुपैयाँ मात्रै भुक्तानी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उदयपुर अस्पतालले ४४ हजार ७७७ रुपैयाँ र संखुवासभा अस्पतालले ५ लाख २६ हजार १५१ रुपैयाँ ५८ पैसा बढी भुक्तानीका लागि दाबी पेश गरेको पाइएको छ । उदयपुर हस्पिटलले १ हजार ५४ जना बालबालिकाको उपचार गरेको भन्दै ९ लाख ५४ हजार ७ सय ७७ रुपैयाँ दाबी गरेकोमा ९ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ ।

संखुवासभा अस्पतालले १ हजार ४५६ जना बिरामीको उपचार गरेको भन्दै २५ लाख २४ हजार २८२ रुपैयाँ दाबी गरेकोमा १९ लाख ९८ हजार १३० रुपैयाँ ७ पैसा मात्रै भुक्तानी दिएको मन्त्रालयको अभिलेखमा देखिन्छ ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीको पालामा १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचार गर्ने भन्दै १५ माघ २०८० देखि मोरङका २ निजी हस्पिटलसहित सरकारी अस्पतालहरूमा यो सेवा शुरू हुँदै आधा दर्जनभन्दा बढी अस्पतालमा सुचारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको