जनकपुरधाम:नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । तीन घटनामा औसतमा सात जनाको मृत्यु हुने गरेको छ ।
अर्थात् घरबाट काममा निस्केकामध्ये ७ जना नेपाली फर्केर घर जान पाउँदैनन्, उनीहरूले बाटैमा ज्यान गुमाउँछन् । नेपालमा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।
नेपाल प्रहरी तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८०-८१ मा नेपालमा ३५ हजार ४०४ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा परी नेपालमा २ हजार ३६९ जनाको मृत्यु भएको थियो । ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना सामान्य घाइते भएका थिए । सडक दुर्घटनामा परी १०१ चौपायाको समेत मृत्यु भएको थियो ।
पछिल्ला १० वर्षको तथ्याङ्कले नेपालमा सडक दुर्घटना कति भयावह बन्दै छ भन्ने स्पष्ट देखाउँछ । नेपाल प्रहरी उपलब्ध गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१-७२ देखि २०८०-८१ सम्मको १० वर्षका अवधिमा नेपालमा सडक दुर्घटनामा परी २४ हजार ३५१ जनाको मृत्यु भएको छ । पछिल्लो ६ वर्षमा मात्र १५ हजार १६८ जनाको मृत्यु कारक सडक दुर्घटना बनेको छ ।
बितेको ६ वर्षमा प्रत्येक वर्ष औसतमा २ हजार ५२८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको देखिन्छ । उक्त अवधिमा प्रत्येक दिन औसतमा ६.९२ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको तथ्याङ्कले देखाउँछ ।
प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष (आव) २०७१-७२ मा २ हजार ४, आव २०७२-७३ मा २ हजार ६, आव २०७३-७४ मा २ हजार ३८४, आव २०७४-७५ मा २ हजार ७८९, आव २०७५-७६ मा २ हजार ७८९, आव २०७६-७७ मा २ हजार २५१, आव २०७७-७८ मा २ हजार ५००, आव २०७८-७९ मा २ हजार ८८३, आव २०७९-८० मा २ हजार ३७६ र आव २०८०-८१ मा २ हजार ३६९ जनाको मृत्यु भएको थियो ।
पछिल्लो ६ वर्षमा सडक दुर्घटनामा परी १ लाख ५१ हजार ३८३ जना घाइते भएका छन् । तीमध्ये ३४ हजार ६२८ जना गम्भीर र १ लाख १६ हजार ७५९ जना सामान्य घाइते भएका थिए ।