जनकपुरधाम:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपमहासचिव जनार्दन शर्माले बैठकमा पेश गरेको प्रस्तावमा लचक भएका छन् । पार्टीभित्रको समस्या औल्याउँदै शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेसम्मको प्रस्ताव स्थायी कमिटीको बैठकमा लिखित रुपमै अघि सार्दा पनि प्रचण्ड लचक भएका हुन् ।

शर्माको प्रचण्डविरुद्धको यो प्रस्तावले माओवादी वृत्त तरंग आएको ल्याएको थियो, तर नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा बिहाबार आफ्नो राजनीतिक दस्तावेजमा समावेश गर्ने आश्वासन दिए । यद्यपि, प्रचण्डले बैठकमा पेस भएको दस्तावेज छलफल नभई मिडियाबाट सार्वजनिक भएकोप्रति भने असन्तुष्टि जनाएका थिए ।

त्यसो त विगतलाई हेर्दै माओवादीमा प्रचण्डसँग फरक मत राख्ने टिक्न नसकेको भन्दै जनार्दनबारे के गर्लान् भन्ने प्रश्न उठेको थियो । शर्माको प्रस्तावलाई तल्लो तहमा पनि छलफल लैजान पनि प्रचण्ड तयार भएका छन् ।

माओवादीले भदौ महिनाभरि प्रदेशस्तरीय केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ । त्यो बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्म अनिवार्य उपस्थित हुने भनिएको छ ।

आगामी भदौ ५–६ बागमती, भदौ ७–८ विशेष र सम्पर्क समन्वय, भदौ ९–१० गण्डकी, भदौ १२–१३ सुदूरपश्चिम प्रदेशस्तरीय बैठक बस्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनका अनुसार भदौ १४–१५ कर्णाली, भदौ १६–१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२–२३ मधेश, भदौ २४–२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७–२८ जबस, मोर्चा र भदौ २९–३० ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगको परामर्श बैठक बस्नेछ ।

त्यसपछि असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक राखेर पार्टी निर्माणका लागि जनतामा फर्किने माओवादीको तयारी छ । सचिव लीलामणि पोखरेलले अब बस्ने केन्द्रीय कमिटीको बैठकले पार्टीको एजेण्डा र कार्यक्रमहरु तय गरेर अघि बढ्ने बताए ।

उनले भने, ‘जनार्दनजीले आफ्नो कुरा राख्नुभयो । बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढ्छ । उहाँले आफूलाई राखेको कुरा राख्नुभयो । पार्टीभित्र देखिएको विचार, संगठन, नेतृत्व सबैको समस्या र देशको परिस्थितिबारे हामीले छलफल गरेका छौं ।’

उनले यो स्थायी कमिटीको बैठकको छलफलपछि पार्टी एकताबद्ध भएर अघि बढ्ने दाबी गरे । उनले थपे, ‘अब प्रदेश कमिटीको बैठक बस्छ, त्यसपछि फुल कमिटीको बैठक बसेर पार्टीलाई अगाडि बढाउने विषयमा नीतिका कार्यक्रम कार्ययोजना बनाएर एकताबद्ध बनाएर जान्छौं ।’ उनले बैठकपछि अध्यक्ष प्रचण्डसहित पार्टीका सबै नेता फिल्डमा जाने बताए ।

प्रचण्डसँग उपमहासचिव शर्माको असन्तुष्टि २०८० फागुनमा भएको महाधिवेशनबाट सुरु भएको हो । शर्मा त्यसबेला महासचिवको आकांक्षी थिए, तर अर्का महासचिवका आकांक्षी वर्षमान पुन त्यसबेला उपचारको लागि चीनमा थिए ।

शर्माले अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित भएर आउनुपर्ने अडान राखेका थिए, तर प्रचण्डले अध्यक्षमा आफूलाई घोषणा गरेर खल्तीबाट केन्द्रीय कमिटी सदस्यको नाम सुनाए ।

महाधिवेशनको लामो समयपछि पुन र शर्मालाई भिडाएर देव गुरुङलाई महासचिव बनाएको आरोप छ, तर पछिल्लो समय महासचिव गुरुङ पार्टी सञ्चालन गर्न नसकेको आरोप खेपिरहेका बेलामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भित्र्याएर महासचिव बनाउने चर्चा पार्टी वृत्तमा चलाए ।

त्यसयता शर्मा र पुनः एकै ठाउँमा आइपुगेका छन् । स्थायी कमिटीको बैठकमा पनि शर्माको प्रस्तावलाई बल पुग्नेगरी पुनः प्रस्तुत भएपछि प्रचण्डलाई पार्टीभित्र चर्को दबाब बढेको नेताहरु स्वीर्काछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको