जनकपुरधाम:भारत सरकारले न्यारो गेज रेलकै रूटमा ब्रोडगेज ट्र्याक निर्माण गरेको छ । यो लिकमा भने प्रतिघन्टा १ सय ८० किलोमिटर रफ्तारमा आधुनिक डेमु रेल गुड्छ । ब्रोडगेज लिकमा डेमु रेल गुड्न थालेको पनि ३ वर्ष पुगेको छ । तर, यो अवधिमा भने रेल गुडिरहेका बेला चिप्लिएर र किचिएर ३ जनाको मृत्यु भएको छ भने ९ जना अंगभंग हुने गरी काटिएका छन् ।
रेलको रफ्तार ठम्याउन नसक्दा, गुड्ने बेलामा हतारमा रेल चढ्न खोज्दा र रेल आइरहेको बेला लापरबाही गरेर बाटो काट्न खोज्दा दुर्घटना बढ्दो छ । लापरबाही नरोकिने र दुर्घटनाको क्रम बढेपछि नेपाल रेल्वे विभागले भने बढी भीडभाड हुने इलाकामा रेल्वे लिकलाई तारजालीले घेर्न थालेको छ ।
जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर वंशी चोकसम्म रेल्वे विभागले लिकलाई तारजालीले घेर्न फलामको पिलर ठड्याएको छ । रेल्वे लिकको ड्यामको दुवैतिर गाडिएको फलामको पिलरमा तारजाली लगाइनेछ । जनकपुर रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार सुरक्षाका लागि सहरी क्षेत्र र बढी भीडभाड हुने इलाकामा रेल्वे लिकलाई तारजालीले घेर्ने काम भइरहेको छ । ‘रेल सञ्चालनमा बाधा–अवरोध नहोस् र दुर्घटना रोक्न तारजाली लगाउन लागिएको हो,’ रेल्वेका इन्जिनियर ओझाले भने, ‘रेल चल्दा–चल्दै लिकमा मानिस र चौपाया आइदिँदा समस्या भइरहेको थियो । घेराबेरा लगाएपछि दुर्घटनामा पनि हुन्न ।’
रेल विभागका प्रवक्ता कमलकुमार शाहले पहिलो चरणमा जनकपुरको सहरी क्षेत्रमा रेल्वे लिकलाई तारजाली लगाएर घेरिने जानकारी दिए । उनले रेल सञ्चालनमा बाधा–व्यवधान नआओस् भनेर सुरक्षाका लागि तारजाली लगाउन थालिएको बताए । ‘पहिलो चरणमा जनकपुरको रेल्वे प्लेटफर्मदेखि पिराडी चोकसम्मको एरियामा तारजाली लगाइनेछ,’ रेल विभागका प्रवक्ता शाहले भने, ‘पछि, अरु भीडभाड इलाकामा पनि तारजाली लगाएर रेल्वे लिकलाई सुरक्षित गरिनेछ । भारतमा पनि रेल्वे लिकलाई सुरक्षित राख्न तारजाली नै लगाइन्छ । त्यही प्रविधि हामीले पनि अपनाएका छौं ।’
रेल विभागका प्रवक्ता शाहका अनुसार रेल गुडिरहेकै बेला लिकमा मानिस र गाईगोरु आइदिँदा समस्या भइरहेको छ । ‘पहिलो चरणमा जनकपुरलाई टार्गेट गरेर तारजाली लगाइन्छ । पछि, अरु भीडभाड एरियामा पनि तारजाली लगाउने हाम्रो योजना छ ।’ उनका अनुसार रेल्वे लिकमै हटिया र बजार लगाउने र रेल आइरहेका बेला अचानक लिकमा मानिस आइदिँदा दुर्घटनाको जोखिम बढेकाले सुरक्षाका लागि तारजाली लगाउन थालिएको हो ।
२०७९ पुस १३ यता रेल्वेमा दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । यस अवधिमा रेलको लिकमा किचिएर ७ जना अंगभंग भएका छन् । एक जनाको भने रेलमा चढेका बेला हृदयघातले मृत्यु भएको रेल्वे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका डीएसपी दयाराम पौडेलले जानकारी दिए । ‘रेल गुडिरहेका बेला अचानक लिंकमा आउने र हतारमा बाटो क्रस गर्न खोज्दा चेपिएर मृत्यु र घाइते भएको देखिन्छ,’ डीएसपी पौडेलले भने, ‘रेल आइरहेका बेला लिकमा चिप्लिएर पनि केही घाइते भएको देखिन्छ ।’ रेल्वेको सुरक्षाका लागि डीएसपीको कमान्डमा सशस्त्र प्रहरीका ६० जना जनशक्ति परिचालन गरिएको छ ।
हाल, नेपालको रेल जयनगर–जनकपुर–भंगहा रूटमा ५२ किलोमिटरमा सञ्चालन भइरहेको छ । धनुषा र महोत्तरीको थुप्रै ग्रामीण बस्ती पर्ने यो रूटमा भने बाक्लो जनघनत्व पनि छ । ‘जनचेतनाको कमीका कारण रेल्वे मार्गमा दुर्घटनाको जोखिम बढ्दो छ,’ रेल्वेका सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले भने, ‘रेल रोकिंदा ढोका थुनेर बस्ने, झ्यालमा झुन्डिनेलगायतका समस्या पनि छ ।’ ब्रोडगेज रेल लिक महोत्तरीको बर्दिवाससम्म निर्माण भइरहेको छ । ब्रोडगेजको निर्माण नसकिँदै नेपाल रेल्वेले भने २०७८ चैत १९ गतेदेखि दुई सेट डेमु रेलबाट सेवा सञ्चालन गरिरहेको छ ।