जनकपुरधाम:संविधान संशोधनको नाममा समावेशी लोकतन्त्रलाई समाप्त पार्न नेपाली कांग्रेस र नेकपा एमालेले गरेको षडयन्त्रविरुद्ध संघर्षको तयारीमा रहन तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

श्निवार तमलोपा केन्द्रिय कार्यालयको सभा कक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका उच्च नेताहरुले यस्तो निर्देशन दिएका छन् ।

तमलोपाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधनको क्रममा तमलोपाका अध्यक्ष पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले, –“नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तनतिर र जनताले संविधानमा खोजेको संशोधन नभई समावेशी लोकतन्त्रलाई पछाडि धकेल्न षडयन्त्र गरेको आरोप लगाए ।

उनले प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तकृतमा रहेका मधेशी, थारु, आदिवासी–जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको” ठोकुवा गर्दै यस पश्चगामी षडयन्त्र विरुद्धको संघर्षको निमित्त तयार रहन निर्देशन दिए ।

तमलोपाका बरिष्ठ नेता संविधान सभा सदस्य डा. विजयकुमार सिंहले प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनु पर्ने र निर्वाचन क्षेत्र प्रदेशहरुलाई तोक्नु पर्ने बताउँदै काँग्रेस–एमाले गठबन्धन प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको आरोप लगाए ।

उनले भने, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र स्थायित्वको नाममा काँग्रेस र एमालेको ओलीगार्की अल्पतन्त्र कायम गर्न खोजेको हो ।

तमलोपाका वरिष्ठ नेता सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेश केन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुप्पीका साथ सत्ता भोग गर्नुमा लागेको देख्दा दुख लागेको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टी यसको विरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नुबाट पछि नहट्ने भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको