जनकपुरधाम:प्रजातन्त्र तथा लोकतन्त्रको संस्थागत विकासका लागि जनताको जीवनमा परिवर्तन हुनुपर्नेमा एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिएका छन् ।

प्रजातान्त्रिक विचार समाज धनुषाले जनकपुरधाममा आयोजना गरेको “मधेशमा प्रजातान्त्रिक मूल्य मान्यताको अवस्था र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता महेश आचार्यले मधेश प्रदेशको समृद्धि र विकासका लागि राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग, सुनकोशी कमला मरिन डाइभर्सन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा फाष्ट ट्रयाकको निर्माण समयमा सम्पन्न हुनुपर्ने धारणा राखे ।

उनले मुलुकको स्थिरता तथा सुशासनको लागि बहुमत भन्दा बढी विधिको शासन आवश्यक भएको बताए । काँग्रेस नेता आचार्यले मधेशमा काँग्रेस कमजोर भएको खण्डमा देशमा नै काँग्रेस कमजोर हुने गरेको चर्चा गर्दै काँग्रेसले मधेसको भावनाको कदर नगरेर गुट उपगुटबाट लागेकाले देशको विकासले गति नलिएको बताए ।

काँग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले मधेसको जनभावनाको कदर नभएका कारणले मधेशमा काँग्रेस कमजोर भएको बताउँदै दशकौँदेखि हुलाकी राजमार्ग बने पनि पुरा नहुनु त्यसको उदाहरण रहेको बताए ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले चुरेको विनाश मधेसका लागि मात्र नभई देशकै लागि अभिसाप बन्ने बताए ।

प्रजातान्त्रिक विचार समाज धनुषाका अध्यक्ष नवीन झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, चन्द्रदेव भट्ट लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको