
जनकपुरधाम:नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि नेपालमा पर्यटकहरूको आऊ–जाऊ बढी हुने तथा विभिन्न मुलुकमा सिधै हवाई उडान नहुँदा एमपक्स देखिएको मुलुक ‘ट्रन्जिट’ हुने भएकाले सङ्क्रमण भित्रिन सक्ने सम्भावना रहेको स्वीकार गर्दछन् ।
‘एमपक्सको जोखिममा नेपाल पनि छ । गत वर्ष एक जना विदेशी महिलालाई एमपक्स देखिएको थियो,’ उनले भने, ‘हामीकहाँ नेपाली सेना, अन्य मानिसहरू पनि कामका लागि विदेश जाने–आउने भइरहन्छ । यहाँ पर्यटकका रूपमा आउने, काममा आउने पनि थुप्रै हुनुहुन्छ ।’
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल देखिएको एमपक्सको मृत्युदर १० प्रतिशत रहेको बताए । उनका अनुसार एमपक्स दुई प्रकारका हुने गर्दछन् । एउटा ‘क्लेड १’ र अर्को ‘क्लेड २’ । यी दुईमध्ये ‘क्लेड २’ को तुलनामा ‘क्लेड १’ खतरनाक छ ।
हाल मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको ‘क्लेड १’ को ‘म्युटेशन’ ‘क्लेड १बी’ रहेको डा. पुनको भनाइ छ ।
एमपक्सको लक्षण सामान्य रुघाखोकी जस्तो हुने गर्दछ । डा. पुनका अनुसार प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने हुन्छ ।
ज्वरो बढी हुँदै जाँदा शरीरमा बिमिराहरू देखा पर्न सक्ने उनको भनाइ छ । बिमिराहरू अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ । ‘महत्त्वपूर्ण लक्षण भनेकै शरीरमा बिमिराहरू देखापर्नु हो । ठेउलाकै जस्तो हुन्छ । बिमिरामा पानी भरिने र फुट्ने,’ उनले भने, ‘सुरुमा डल्लो देखिने, पानी भरिने, फुट्ने हुन्छ । ठेउला र यसलाई छुट्टाउन गाह्रै हुन्छ । यस्तो अवस्थामा चेक गराउनुपर्छ ।’
डा. पुनका अनुसार सङ्क्रमित व्यक्तिसँगको शारीरिक सम्बन्ध राख्दा एमपक्स सर्न सक्छ । एमपक्स गराउने भाइरस शरीरको घाउ, श्वासनली, आँखा, मुख, नाक लगायतका भागबाट शरीरमा प्रवेश गर्न सक्छ ।
‘यौनजन्य क्रियाकलापमा सक्रिय भएका व्यक्तिहरूमा बढी सङ्क्रमण देखिएकाले त्यस्ता व्यक्ति जाँच गराउन आउने सम्भावना निकै कम हुन्छ,’ डा. पुनले भने ।