जनकपुरधाम:धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय आज सामुहिक आमरण अनशनमा बसेका छन् ।

कमलामा नया पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रकृया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटम सहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आमरण अनशनमा बसेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए । मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसंग पहल गर्न भनेका थियौँ, उनले भने ‘तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन ।’ म आफै पनि आमरण अनशनमा बसेको उनले जानकारी दिए । उनी संगै १० जना युवा आमरण अनशनमा बसेका हुन् ।

सिरहाको औरही वडा नम्बर ४का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष समशाद आलम, सिरहा ६का वडाध्यक्ष इन्द्रजीत यादव, सिरहा ८का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् ।

गत साउन २७मा संघर्ष समितिले दर्जनौंको संख्या सिरहा सदरमुकाम सिरहाबाट मोटरसाइकल जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया ७ दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।

उक्त अल्टिमेटमभित्र मधेश सरकारले कुनै चासो नदेखाएको भन्दै बाध्य भएर आमरण अनशन बस्‍नु परेको संयोजक यादवले बताए । कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने मात्र एक सुत्रीय संघर्ष समितिको माग छ ।

पहिले बनाइएको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले पुललाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग राखेका छन् ।

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।

२०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो । पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

अनशनमा बस्नु स्टन्ट हो : मुख्यमन्त्री सिंह

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कमला पुल निर्माणकालागि प्रदेश सरकार आफै गम्भिर रहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । उनले प्रदेश सरकार आफै कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गरिरहँदा समेत सिधै आएर आमरण अनशनमा बस्नु स्टन्ट जस्तो लागिरहेको आरोप लगाए ।

गत साउन २७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाका साथीहरुले मलाई एक सूत्रीय माग राखेर ज्ञापन पत्र बुझाउनु भएको थियो, मुख्यमन्त्री सिंहले भने ‘उहाँहरुकै ज्ञापन पत्रमा एकसाता भित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसंग पहल गर्न भन्नु भएको रहेछ ।’ मुख्यमन्त्री सिंहले अगाडी भने ‘उनीहरुको मागलाई गम्भिरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई बोधार्थ राखेर संघिय भौतिक पूर्वाधारलाई माग सहित पत्र पनि लेखिसकेका छौँ ।’ यसका साथै मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रीपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए । यद्यपि प्रदेश सरकार गम्भिरता देखाउँदै उनीहरुको मागलाई लिएर यति गतिमा काम गरिरहँदा समेत संघर्ष समितिका साथीहरु आमरण अनशनमा बस्नु स्टन्ट जस्तै लागिरहेको मुख्यमन्त्री सिंहले आरोप लगाए ।

उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफै त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडी बढाई सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको