जनकपुरधाम:नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरुको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।

अनशनमा बसेका युवाहरुसंग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरु अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरुलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।

मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकारर तयार रहेको भन्दै अनशनमा बसेका युवाहरुसंग सम्झौता गरेको हो । यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२-०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो ।

नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए ।

नयाँ पुलको सपना ११ वर्षदेखी अधुरै

हुलाकी राजमार्गअन्तर्गत कमलामा पुलको निर्माण थालिएको ११ वर्षमा पनि अपुरै छ । निर्माणकै क्रममा रहेको पुलको दुईवटा पिलर(पायर) भासिएको छ । निर्माण कम्पनीले पुल बनाउन ढिलाइ गरिरहँदा डिजाइनमा त्रुटिको दाबी गर्दै जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि १० जना मंगलबारदेखि आमरण अनसनमा बसेका थिए ।

पुल बनिसक्ने अनिश्चितता र निर्माणाधिन पुलमा त्रुटि नै त्रुटि रहेको दाबी गर्दै सिरहाका जनप्रतिनिधि तथा प्राविधिकको टिमले मधेश प्रदेश सरकारले अर्को नयाँ पुलको निर्माण गर्नुपर्ने सर्त राख्दै जनकपुरमा अनसनमा बसेका थिए ।

सिरहा नगरपालिकाका इञ्जिनियर प्रवीणकुमार यादव, सिरहा पुस्तकालयका अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउपालिका–४ का वडाध्यक्ष सुरेन्द्र यादव, स्थानीय मनिष यादव, इञ्जिनियरहरु शैलेन्द्र यादव, रुपेश यादव, शिवशंकर यादव र वडाध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका थिए । यी १० जनाको स्वास्थ्य अवस्था कमजोर बनेपछि मुख्यमन्त्री सिंहले वार्ता थालेका हुन् ।

हुलाकी राजमार्गलाई जोड्ने कमला नदीको पुल अलपत्र पर्दा सिरहा र धनुषाका पूर्वीदक्षिणी क्षेत्रका बासिन्दा कयौं किलोमिटर घुमेर पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्न बाध्य छन् । कमलामा अलपत्र पुल निर्माण सक्न यसअघिका दुई भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठ स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि निर्माण कम्पनी र हुलाकी राजमार्ग निर्देशनालय हतारोमा देखिँदैन ।

अनसनकारीहरु भने संघीय सरकारले हतारो नदेखाएकै कारण पुल निर्माण सक्नुको साट्टो अपुरै रहने सशंय देखाउँदै मधेश प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरेको छ । ‘अलपत्र पुल बन्ला भनेर हामीलाई आश छैन,’ अनसनको नेतृत्व गरेका इञ्जिनियर प्रविणकुमार यादवले भने,‘पुलमा अनेक त्रुटि छ । त्यसैले प्रदेश सरकारको बजेटमा कमलामा अर्को पुल बन्नुपर्छ ।’ इञ्जिनियर यादवकाअनुसार निर्माणाधिन पुलको पिलर (पाइल) र स्कोरको गहिराई मिलेको छैन् । यस्तो पुलको निर्माण सकेपनि धेरै समय टिक्दैन् ।

कमला नदीको पूर्वदक्षिणी तटीय क्षेत्रका करिब २० लाख बासिन्दा पुल निर्माण नसकिँदा हुलाकी राजमार्गको प्रयोगबाट बञ्चित रहेको अनसनरत वडा सदस्य जीवछ यादवले बताए । ‘बर्खामा पानीको भेल उच्च हुन्छ । बाँसको टेकोबाट पनि पुल वारपार गर्न जोखिम छ,’ उनले भने, ‘सुख्खायाममा पुलमा बाँसको टेको लगाएर मानिससम्म ओहोरदोहोर गर्छन् । त्यहाँ पुल हुँदा र नहुँदा खोला तर्ने तरिका उही छ र थियो ।’ कमला नदीमा निर्माणाधिन पुल बनाउन प्रादेशिक राजधानी जनकपुरमा ¥याली–प्रदर्शन यसअघि पनि गरिएको थियो ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा २०६८ सालमा पुल बनाउन पप्पु कन्स्ट्रक्सनले ठेक्का सकार ग¥यो । ३ वर्ष ६ महिनामा कमला नदीमा ४ सय ७० मिटर लम्बाई र ९ मिटर चौडाईको पुल बनाउन पप्पुले सरकारसँग सम्झौता गरे । म्याद गुज्रँदै पप्पुले ७ वर्षमा पनि कमलामा पुलको निर्माण नसकेपछि हुलाकी सडक निर्देशनालयले सम्झौता तोड्दै ०७८ असार १३ सम्म निर्माण सक्नुपर्ने सर्त राख्दै अर्का निर्माण कम्पनी लुम्बिनी बिल्डर्सलाई ठेक्का दियो ।

लुम्बिनी बिल्डर्सले पनि समयमा काम नसकेपछि अन्तिम पटक भनेर ०७८ फागुन ३० गतेसम्म पुलको काम सक्न म्याद थपियो । तर, ०७८ असार १७ गते कमला नदीमा आएको बाढीले निर्माणाधिन पुलको दुईवटा पिलर नै भासियो । निर्माण कम्पनीकै अलमल र झमेलाले कमलाको पुल अपुरो नै छँदा सरकारको भने २३ करोड भन्दा बढी रकम ठेकेदारले भुक्तानी लिइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय जनकपुर कार्यालयका प्रमुख कृष्ण महतोले निर्माण कम्पनी र इन्स्युरेन्स कम्पनीबीचको विवादले कमला पुलको निर्माण रोकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको