जनकपुरधाम:चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेल लगायतका खाद्य वस्तुहरूको कालो बजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए ।

त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा विस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरूले खाद्य-अखाद्यवस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत समेत गराएका थिए । सभापति खानले चिनी लगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

उनले भने, “चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथ मूल्य पसल देशको विभिन्न स्थानमा विस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।

समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुन: जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।“

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको